मंगलगढीमा आकाशे पुल !

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आकाशे पुल निर्माणले पैदल यात्रु तथा ट्राफिक व्यवस्थापनमा सहजता हुने छ । सडक जस्ता पूर्वाधारले फेरिँदै गरेको वीरेन्द्रनगरको मुहार फेर्न आकाशे पुलले एउटा ईटा मात्र होइन, उदयमान शहरका रुपमा नयाँ मूल्य मान्यता स्थापित गर्दैछ । सडक पूर्वाधारमा कर्णाली प्रदेश सरकारको सबैभन्दा बढी लगानी भएको क्षेत्र राजधानी वीरेन्द्रनगर नै हो । अहिलेसम्म प्रदेशको लगानीबाट कयौं साना–ठुला सडक कालोपत्रे भएका छन् । लामो समयदेखि विवादसँगै अलपत्र परेको मंगलगढी चोकदेखि कांक्रेबिहारतर्फ जोड्ने सडकले पूर्णता पाएसँगै वीरेन्द्रनगरको मुहार फेर्न नगरपालिका थप सक्रिय रहेको देखिन्छ । वीरेन्द्रनगरको मुख्य चौराह मध्य एक मंगलगढी चोकमा आकाश पुल निर्माणले नयाँ आयाम थपिने छ ।  किनभने लगतै सोही आवश्यकता र मागलाई केन्द्रविन्दुमा राख्ने हो भने शहरका अन्य स्थानहरुमा समेत आकाशे पुल निर्माण गरिनुपर्ने हुन्छ ।

प्रदेश राजधानीको योजनाबद्ध विकास र सहरी सौन्दर्यलाई बढावा दिन यी र यस्ता आयोजना महत्वपूर्ण मानिन्छन् । प्रदेश सरकार बनेसँगै राजधानीका सयौं सडक कालोपत्रे भएर चिटिक्क बनेको वीरेन्द्रनगरमा संघीय र स्थानीय सरकारले पनि साना–ठुला सडकदेखि पुल पुलेसासम्म बनाइरहेका छन् । पैदल यात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरण गर्न वीरेन्द्रनगरमा पहिलोपटक आकाशे पुल निर्माणको थालनी स्वागत योग्य कदम हो । नगर गौरवको आयोजना अन्तर्गत उक्त आकाशे पुल निर्माणमा भ्याटबाहेक ९९ लाख ९३ हजार लागतमा बन्ने लागेको हो । सवारीसाधनको चाप बढेसंगै वीरेन्द्रनगरमा पैदल यात्रुहरुले असुरक्षित महसुस गरेपछि आकाशे पुलको विकल्प खोजिएको हो । वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा यस अघि नै ट्राफिक बत्ती पनि जडान गरिसकेको छ ।

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापलाई मध्यनजर गर्दै आवश्यक सडक सुरक्षाका उपायहरु अवलम्बन गर्न सरकारको जिम्मेवारी पनि हो । प्रदेश राजधानी केन्द्रित ट्राफिक लाईट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सीसी क्यामेरा, हाई मास लाईट, आइटी जोनजस्ता शहरी पूर्वाधार निर्माणका कामलाई तीव्रता दिनु पर्दछ । प्रयोगकर्ताले समेत आकाशे पुलको सही सदुपयोग गर्नु पर्दछ । अन्यथा सेल्फि खिच्ने पुलको रुपमा मात्र यसको प्रयोग हुनु हुँदैन् । अत्याधिक भिड हुने ठाँउमा पुल बनेकाले पुलले पैदल यात्रीलाई सहजतासँगै बाटो क्रस गर्दा हुने समस्याको समेत अन्त्य हुने विश्वास छ । आगामी जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने कार्यादेशका साथ पाइलटिङ प्रोजेक्टका रुपमा मंगलगढी चोकमा काम अघि बढाइएको आकाशे पुलले तोकिएकै मितिमा मूर्तरुप पाउनु पर्छ ।

Translate »