‘भेरी पम्पिङ’ योजना

कर्णाली प्रदेशको सुर्खेत राजधानी बनेसँगै वीरेन्द्रनगरमा दिन प्रतिदिन जनसंख्या निरन्तर बढ्दो क्रममा रहेको छ । वीरेन्द्रनगरमा विभिन्न अवसर आवश्यकताका लागि आउने मानिस बढेसँगै ३५ हजार घरधुरीका लागि ल्याईएको १२८ लिटर प्रतिसेकेन्ड खानेपानी अपुग हुनु् स्वाभाविकै हो । अहिले वीरेन्द्रनगरमा साढे ५ लाख बढी नागरिक प्रत्यक्ष अप्रत्यक्षरुपमा बस्दै आईरहेको अनुमान छ । सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार त्यसका लागि करिब २७८ लिटर प्रतिसेकेन्ड पानी आवश्यक पर्छ । त्यसमा पनि अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो । खडेरीको समयमा माग बढ्ने भए पनि मुहानमा पानी घट्ने हुँदा खानेपानीको अभाव वर्षेनी हुने गर्दछ । सन् २०५० सम्म वीरेन्द्रनगरमा हुनसक्ने जनसंख्या वृद्धिलाई मध्यनजर गर्दै खानेपानी समस्या समाधान गर्न भनेर ‘भेरी पम्पिङ’ योजना अघि बढाइएको हो ।

भेरीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर ल्याउन संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत लिफ्टिङ प्रविधिमार्फत् पानी उपत्यकामा ल्याउने लागिएको छ । दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरणअन्तर्गत ४ अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ । तोकिएकै समयमै आयोजना सम्पन्न गर्नको लागि हालसम्म १४ प्रतिशत भौतिक प्रगति भईसकेको छ । आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी सिन्ज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसन ले गरिरहेको छ ।

आयोजनाको पहिलो चरणमा तीन अर्ब पाँच करोड आठ लाख १५ हजार रुपैयाँ लागतमा काम भइरहेको छ । भेरी नदीबाट करिब सात किलोमिटर दूरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माणको काम भइरहेको छ । आयोजनाले दिगो तथा सुधारिएको खानेपानी आपूर्ति तथा सरसफाइ सेवा उपलब्ध गराउनुका साथै सेवा प्रवाहमा स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । तीन वर्ष निर्माणको समायावधि रहेको आयोजना निर्माण सम्पन्न भइसकेपछि पनि थप तीन वर्ष आयोजनाको सञ्चालन र व्यवस्थापको जिम्मा निर्माण कम्पनीले लिनेछ । त्यसपछि आयोजनाको सम्पूर्ण स्वामित्व वीरेन्द्रनगर नगरपालिकाको मातहतमा आउनेछ । तोकिएकै समयमा आयोजना सम्पन्न भएमा वीरेन्द्रनगरका ५ लाख बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् ।

 

Translate »