वैशाख २ गतेदेखि सुर्खेतमा आर्थिक गणना हुँदै


सुर्खेत । सुर्खेत जिल्लामा वैशाखको पहिलो साताबाट सुरु हुने ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्ला आर्थिक गणना कार्यालय, सुर्खेतले आज वीरेन्द्रनगरमा जिल्लास्थित विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी जिल्ला स्तरीय गोष्ठी आयोजना गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने उक्त गणना राष्ट्रिय अभियान भएकोमा सबैले मिलेर सफल पार्नुपर्ने कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

सहभागीले देशको अर्थतन्त्रका लागि प्रत्यक्ष जोडिएको कृषि क्षेत्रलाई पनि आर्थिक गणनामा समेट्न आवश्यक रहेको औल्याएका थिए । स्ुर्खेतमा नेपाल औद्योगिक वर्गीकरण अनुसारका आर्थिक गणनामा १८ किसिमका व्यवसायिक प्रतिष्ठानहरुको आर्थिक तथ्याङ्क सङ्कलन गरिने भएको छ ।
सुर्खेतमा आर्थिक गणनाका लागि ७ जना सुपरिवेक्षक र ५२ जना गणक नियुक्त गरी परिचालन गरिने जिल्ला आर्थिक गणना अधिकारी विनोद आचार्यले जानकारी दिए । उनका अनुसार गणक तथा सुपरिवेक्षकलाई चैत २६ गतेदेखि ३० गतेसम्म पाँच दिनको तालिम दिएर परिचालन गरिने छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले आर्थिक गणनालाई सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले तथ्याङ्क सङ्कलनका क्रममा हरेक प्रतिष्ठानमा पुग्ने गणकलाई सत्य र सही विवरण प्रदान गर्न सबैलाई आग्रह गरे ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्कको अध्यक्षतामा शुरु भएको गोष्ठीमा तथ्याङ्क सङ्कलनका लागि आउने गणकलाई आफुहरुले सत्य सथ्य विवरण उपलब्ध गराउन भरपुर सहयोग गर्ने व्यवसायीहरुले प्रतिबद्धता व्यक्त गरे ।
गोष्ठीमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, होटल तथा किराना पसल व्यवसायीका प्रतिनिधि तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


