सुर्खेतमा दोस्रो आर्थिक गणनाका गणकलाई आजदेखि पाँचदिने तालीम


सुर्खेत । राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालीम आज (बिहीवार) देखि शुरु भएको छ ।
आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्यांक अद्यावधिक गर्न सञ्चालन गरिने उक्त गणनाको तयारीअन्तर्गत गणकहरूलाई आजदेखि सुर्खेतसहित देशभर एकैसाथ तालीम दिन लागिएको हो ।
पाँचदिने तालीम सम्पन्न भएपछि आगामी २०८३ वैशाख २ गतेदेखि गणकहरू आर्थिक गणनाको काममा खटिने जिल्ला आर्थिक गणना अधिकारी विनोद आचार्यले जानकारी दिए । उनले सुर्खेतमा आर्थिक गणनाका लागि ७ जना सुपरिवेक्षक र ५२ जना गणक नियुक्त गरिएको बताए ।

उनका अनुसार आर्थिक गणनाका लागि आवश्यक गणकको छनोट प्रक्रिया पूरा भइसकेको र सम्बन्धित स्थानीय तहमा आवश्यक पत्राचार गरिसकिएको छ । तालीम ५ दिन सञ्चालन हुनेछ र तालीम सकिएपछि गणकहरू आफ्नो जिम्मेवारीअनुसार खटिने छन् ।
यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ (वैशाख–जेठ) मा सञ्चालन भएको थियो ।


