यस वर्ष नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने एडीबीको प्रक्षेपण, आगामी वर्ष सुधारको सम्भावना

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले चैत २७ गते काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गदैं उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । एडीबीका अनुसार यस वर्षको आर्थिक वृद्धिदर गत वर्षको तुलनामा ४ दशमलव ६ प्रतिशत कम हो ।

नेपालका लागि एशियाली विकास बैंकका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले गत वर्षको नागरिक अशान्तिलगायत राजनीतिक अनिश्चितता एवम् मध्यपूर्वमा जारी द्वन्द्वको प्रतिकूलताबीच आर्थिक वर्ष २०२६ (आर्थिक वर्ष ०८२र८३) मा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा शिथिल रहने अनुमान गरेका हुन् ।

राजनीतिक स्थायित्वको पुनरागमनले सुधारलाई अघि बढाउनुका साथै अर्थतन्त्रमा आत्मविश्वास बढाउने आशा कोश्वाले गरे । खासगरी मध्यपूर्वमा जारी द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्यका साथै पर्यटन र विप्रषण आप्रवाहमा प्रतिकूल जोखिम कायम रहेको कोश्वाको भनाइ छ । आन्तरिक माग, जलविद्युत निर्यात र पर्यटन सुदृढ भएर आर्थिक वर्ष २०२७ (आर्थिक वर्ष ०८३र८४) मा भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर मजबुत भई ५ प्रतिशत पुग्ने प्रक्षेपण एडीबीको छ ।

आर्थिक वर्ष २०२६ मा उपभोक्ता मुद्रास्फीति दर करीब ३ दशमलव ७ प्रतिशत रहने र आन्तरिक आर्थिक गतिविधिहरूमा सुधार एवम् छिट्टै स्थायित्वको परिदृश्यमा आगामी आर्थिक वर्ष २०२७ मा थप वृद्धि भई ४ दशमलव ५ प्रतिशत पुग्ने प्रक्षेपण एडीबीको छ ।

मध्यपूर्वको द्वन्द्वले नेपालको चालू खाता बचतमा भइरहेको विस्तारमा भने बाधा पुर्याउने देखिन्छ । विप्रेषण आप्रवाह तथा निर्यातको वृद्धिदरमा कमी लगायतका कारण गत आर्थिक वर्ष २०२५ को ६ दशमलव ७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०२६ मा चालू खाता बचत जीडीपीको ७ दशमलव २ प्रतिशत रहने प्रक्षेपण एडीबीले गरेको छ ।

आप्रवासमा अस्थायी रोकावट, इन्धनको मूल्य वृद्धिका कारण आयातको भुक्तानीमा वृद्धि र पर्यटनमा हुने नोक्सानीका कारण आर्थिक वर्ष २०२७ मा चालू खाता बचतमा आंशिक कमी आई जीडीपी ५ दशमलव ३ प्रतिशतमा सीमित हुने अनुमान एडीबीको छ ।

एडीबीले एशियाली विकास परिदृश्यमार्फत उल्लेखित प्रक्षेपित विवरण सार्वजनिक गरेको हो । यो परिदृश्य तीव्र अनिश्चितता र उल्लेख्य प्रतिकूल जोखिममा आधारित रहेको एडीबीले जानकारी दिएको छ ।

मध्यपूर्वको द्वन्द्व, पूँजीगत बजेटको कमजोर कार्यान्वयन, वित्तीय क्षेत्रमा अन्तर्निहित जोखिमहरू र जलवायुजन्य खतराहरू एडीबीको परिदृश्यमा समेटिएको छ ।

एडीबी एशिया तथा प्रशान्त क्षेत्रमा दिगो, समावेशी र उत्थानशील विकासका लागि सहयोग गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो ।

सदस्य र साझेदारहरूसँगै मिलेर जटिल चुनौतीहरू समाधानका लागि एडीबीले काम गरिरहेको छ । सन् १९९६ मा स्थापना भएको एडीबीमा ६९ सदस्यहरूको स्वामित्व रहेको छ । तीमध्ये ५० एशिया तथा प्रशान्त क्षेत्रमा अवस्थित रहेको एडीबीको भनाई छ । (आर्थिक अभियान)

Translate »