नयाँ वर्षसँगै राराका होटेलहरु पर्यटकले भरिभराउ


मुगु । नेपाली नयाँ वर्षको सुरुवातसँगै कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका होटल तथा लजहरु पर्यटकले भरिभराउ भएका छन् ।
विशेषगरी सल्लेरी, माझघट्ट तथा सेरोफेराका क्षेत्रहरुमा पर्यटकको चहलपहल अत्यधिक बढेको देखिएको छ। नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकहरु रारा पुग्ने क्रम बढेसँगै सल्लेरी र माझघट्ट आसपासका होटेलका कोठाहरु पर्यटकले खचाखच भरिभराउ भएको पर्यटन व्यवसायीहरुले बताएका छन् । सल्लेरी र माझघट्ट रारा पुग्ने मुख्य प्रवेशद्वार तथा बासस्थानकारुपमा विकसित हुँदै गएका कारण यहाँ पर्यटकको चाप बढी देखिएको हो ।

स्थानीय होटल सञ्चालकहरुका अनुसार वैशाखको पहिलो हप्तादेखि नै अधिकांश होटेलहरुमा निकै चहलपहल भएको पाइएको छ । पर्यटकहरुले राराको शान्त वातावरण, प्राकृतिक सौन्दर्य, स्वच्छ हावा र हिमालको दृश्यले आफूहरुलाई आकर्षित गरेको बताएका छन् । सल्लेरी र माझघट्ट क्षेत्रबाट रारा पुग्न सहज पहुँच, खानपान र बासको राम्रो व्यवस्थाका कारण पनि यी स्थानहरु पर्यटकको रोजाइमा पर्ने गरेका हुन् ।
स्थानीय सरकार तथा सरोकारवाला निकायहरुले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र सेवा सुधारमा जोड दिँदै आएका छन् । यस वर्ष देखिएको पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय व्यवसायमा उत्साह थप्नुका साथै आर्थिक गतिविधि चलायमान बनाएको छ।
नयाँ वर्षसँगै रारा क्षेत्र, विशेषगरी सल्लेरी–माझघट्ट आसपासका होटेलहरुमा देखिएको यो भीडले आगामी दिनमा पर्यटन क्षेत्र अझै फस्टाउने संकेत गरेको छ ।

