खाद्य कम्पनीद्वारा कैलालीबाट गहुँ खरिद शुरु

कैलाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले टीकापुरमा गहुँ खरिद सुरु गरेको छ ।

कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । यस अघि मङ्गलवारदेखि धनगढीको मोहनपुरबाट गहुँ खरिद शुरु गरिसकेको छ ।

सरकारले निर्धारण गरेको न्यूनतम् समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको प्रादेशिक कार्यालय धनगढीका वरिष्ठ सहायक पुष्पराज बजगाईँले जानकारी दिए । सरकारले निर्धारण गरेको गहुँको न्यूनतम् समर्थन मूल्य तीन हजार ९ सय ४५ रुपैयाँ रहेकामा खाद्य कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ४ हजार २ सय ५० रुपैयाँमा गहुँ खरिद गर्न लागेको बजगाईँले जानकारी दिए ।

यसरी समर्थन मूल्य भन्दा बढी रुपैयाँमा गहुँ बेच्न पाएकोमा किसानहरु पनि खुसी भएका छन् । गहुँ बेच्न खाद्य गोदाम टीकापुर पुगेका योगेन्द्र साउँदले अन्य ठाउँको भन्दा खाद्यमा गहुँ बेच्दा मूल्य बढी पाएकोमा आफू खुसी भएको बताए ।

योगेन्द्र साउँद जस्तै जोशीपुर गाउँपालिका वडा ६ महादेवाका क्रिमलाल डंगौरा पनि खाद्यमा गहुँ बेच्न पाउँदा धेरै खुसी भएका छन् । कम्पनीको टीकापुरबाट १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य रहेको छ । प्रति किसानबाट बढीमा ७० क्विन्टल र कृषिसम्बन्धी सहकारीबाट प्रति सहकारी बढीमा ५ सय क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना रहेको कम्पनीले बताएको छ ।

 

Translate »