सल्यान प्रहरी कार्यालयको हाताभित्र खन्ने क्रममा ८६ वटा बम फेला


सल्यान । सल्यान प्रहरी कार्यालयको हाताभित्र गाडिएको अवस्थामा ८६ वटा बम फेला परेका छन् ।
शारदा नगरपालिका–३ बयलडाँडास्थित जिल्ला प्रहरी कार्यालयको हाताभित्र नयाँ भवनको जग खन्ने क्रममा जमिनमुनि गाडेर राखेको अवस्थामा ती बम भेटिएका हुन् ।
जग खन्ने क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ बोतल बम, ७ थान रेडियो वेभ, एक्सपोलोसिभ ५०० ग्राम, बम बनाउन प्रयोग हुने पार्टसहरु २ केजी र फाइरिङ केबल १० मिटर फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए ।

उनका फेला परेका बम र सामग्री खिया लागेका अवस्थामा फेला परेका छन् । ती बम द्वन्द्वकालमा सुरक्षाका लागि गाडेर राखिएको उनको भनाइ छ ।
फेला परेका बमलाई कालि भक्तिगण भैरहवाबाट इन्जिनियर सहितको टोली र सिद्धिबक्स गण सल्यान सिमखर्कबाट आएको टोलीले सुरक्षितरुपमा डिस्पोज गर्ने कार्य थालेको प्रहरीको भनाइ छ ।

