२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

सुर्खेतमा जुवा खालबाट ९५ हजार रुपैयाँ नगदसहित ८ जुवाडे पक्राउ



वीरेन्द्रनगर । सुर्खेत प्रहरीले जुवा खेल्दै गरेका आठ जनालाई पक्राउ गरी जुवाको खालबाट ९५ हजार १ सय ६६ रुपैयाँ बरामद गरेको छ ।प्रहरीले वीरेन्द्रनगर–७, फुलवारी टोलबाट हिजोसाँझ जुवा खालबाटै उनीहरुलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिकाका ४२ वर्षिय मनबहादुर बुढा, ४४ वर्षिय लक्ष्मण रोकाय, ३० वर्षिय लालबहादुर बुढा, ३४ वर्षिय लंकबहादुर बुढा, ४५ वर्षिय गम्भीर रावत, ३० वर्षिय विष्णु बुढा, ३१ वर्षिय हरिबहादुर रोकाय र वीरेन्द्रनगर–७ घर भएका घरबेटी ३८ वर्षीय जनक रोकाय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढ्थापाले जुवा खालबाट ९५ हजार १ सय ६६ रुपैयाँ नगदसहित ६ गड्डी तास र ९ थान मोबाइल बरामद गरिएको जनाए । उनका अनुसार हारजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अहिले पक्राउ परेका उपर जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भईरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार
Translate »