सडक, सञ्चार र विद्युतको माग राख्दै मुख्यमन्त्री कार्यालयमा वडाध्यक्षको धर्ना


सुर्खेत । सडक, सञ्चार र विद्युतको माग गर्दै सल्यान कालीमाटी गाउँपालिका–७, का वडाध्यक्ष मित्रलाल रिजाल र वडा सदस्य विर्खबहादुर राना कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि धर्नामा बसेका छन् ।
घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरोन्नति, नेपाल टेलिकमको टावर निर्माण र विद्युत विस्तारका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभए पछि बाध्य भएर कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्नामा बस्नु परेको वडाध्यक्ष रिजालको भनाई छ ।

सडकको दुरावस्थाले स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आइरहेको सामान्य वर्षा हुँदा समेत सडक हिलाम्मे र अवरुद्ध हुने, बिरामी बोकेका सवारी बीच बाटोमै रोकिने तथा विद्यार्थी र सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको रिजालले बताए ।
जनताको आवाज सरकारले नसुनेपछि बाध्य भएर प्रदेश राजधानी स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमै धर्ना बस्न सल्यानबाट सुर्खेत आएको उनको भनाइ छ ।
उनका अनुसार गाउँमा सडक, टेलिफोन र विद्युत जस्ता आधारभूत सेवा नपाउँदा नागरिक आजित भएका छन् । वडाध्यक्ष रिजालले आफ्ना माग पूरा नभएसम्म धर्ना कार्यक्रम नरोकिने जनाए ।

