झुप्रा बाढीको जोखिममा

मनसुनी वर्षा सुरु हुन अझै एक/डेढ महिना बाँकी छ । बर्खा नलाग्दै सुर्खेतलगायत कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा एक्कासि भीषण वर्षा हुँदा बाढीपहिरोले क्षति पु¥याएको खबर आएका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११,झुप्रा खोला किनारको बादी समुदायको बस्ती बाढीको उच्च जोखिममा रहेको छ । डोजर लगाएर खोला किनारबाट निकालिने अनियन्त्रित ढुङगा, गिट्टी र बालुवा उत्खनन्का कारण झुप्रा खोला किनारको बादी समुदाय बसेको बस्ती बाढीको उच्च जोखिममा रहेको पाईन्छ । झुप्रा खोलामा २०७७ सालदेखि मेसिनमार्फत अनियन्त्रित तरिकाले भईरहेको ढुङ्गा, गिट्ट र बालुवा उत्खननले झुप्रा खोला र भेरी नदी किनारको बस्ती समेत बाढीको उच्च जोखिममा रहेको औल्याईएको छ । हाल झुप्रा खोला किनारको बस्तीमा करिब १ सय ८३ घरपरिवार रहेको अनुमान छ ।

वर्षात नजिकिँदै गर्दा वीरेन्द्रनगर नगरपालिकाले झुप्रा खोला किनारका बस्तीमा बाढीको पूर्वतयारी तथा सुरक्षाका लागि प्राथमिकता दिनुपर्ने देखिन्छ । झुप्रा खोलामा २०७७ सालदेखि वीरेन्द्रनगर नगरपालिका र लेकवेशी नगरपालिकाले आलोपालो नियमित ठेक्का प्रक्रियामार्फत मेसिन प्रयोग गरी ढुङगा, गिट्टी र बालुवा उत्खनन् गर्न दिईरहेका छन् ।  अनियन्त्रित मेसिनको प्रयोगले खोला गहिरिँदै जाँदा वर्षातको समयमा बस्ती नै कटानमा पर्ने खतरा बढेको हो । झुप्रा खोलाको जोखिमसँगै निकास खोलाको डुबान, इत्राम खोला किनारको असुरक्षित आवास, रातानाङ्लाको मौसमी राडारको अवस्था, राउटे समुदायको विपद् जोखिम न्यूनिकरणका लागि वीरेन्द्रनगरले अहिलेदेखि नै आपत्कालीन तयारीहरु सुरु गर्नु पर्छ । पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण उत्पन्न बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी, सुक्खालगायतका समस्याबाट जनजीवन प्रभावित भएको छ ।

विपद्को प्राथमिकता भनेकै तत्कालीन उद्दार र राहतमा केन्द्रित हुनु हो । राहत वितरणलाई एकद्वार प्रणालीमार्फत पारदर्शी र निष्पक्ष बनाई पीडित परिवारले तत्काल पाउने संयन्त्र बनाउनु पर्छ । चुरे र पहाडी क्षेत्रमा जथाभाबी गरिने उत्खनन र अनियन्त्रित जग्गा प्लटिङ रोक्नु पर्छ । वातावरणमैत्री र इन्जिनियरिङ मापदण्ड पूरा गरेर मात्र विकासनिर्माणका कार्य अगाडि बढाउनु पर्छ । बाढीपहिरोको उच्च जोखिममा रहेका बस्ती पहिचान गरी स्थायी रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न ढिलो गर्नु हुन्न । पहिलेका वर्षहरुमा मनसुनको पानी महिनाभरि बाँडिएर पर्ने गथ्र्यो । अहिले जलवायु परिवर्तनका कारण थोरै समयमा एकै ठाउँमा अत्यधिक धेरै पानी पर्ने गरेको छ । मनसुन भित्रिने र बाहिरिने समयतालिका परिवर्तन भएको छ । कहिले मनसुन ढिलो सुरु हुन्छ त कहिले मनसुन सकिनुपर्ने समयमा अनपेक्षित रुपमा भीषण वर्षा भइदिन्छ । यस्ताखाले विपतबाट जोगिन सबै सचेत भई सावधानी अपनाउन जरुरी छ ।

Translate »