भाडा वृद्धिले सेवाग्राही महँगीको चपेटामा

मुगु । दुर्गम जिल्लामा हवाई तथा सडक दुवै यातायातको भाडा बढेपछि स्थानीयवासी महँगीको चपेटामा परेका छन् ।

सडक पहुँच पुगेपनि यात्रा सहज र सुरक्षित नहुँदा अधिकांश नागरिक हवाई सेवामा निर्भर छन् भने सडक यातायात प्रयोग गर्ने यात्रुहरू पनि बढेको भाडाले मारमा परेका हुन् ।

नेपालगन्ज–मुगु उडानमा नेपाल एयरलाइन्सले यसअघि लिँदै आएको ७ हजार ३ सय ६५ रुपैयाँ भाडा बढाएर हाल ९ हजार ६ सय रुपैयाँ पुर्‍याएको छ । अन्य निजी वायुसेवा कम्पनीहरूको समेत हवाई भाडा बढेको यात्रुहरूले बताएका छन् ।

यता सडक मार्गतर्फ पनि गाडी भाडामा उल्लेख्य वृद्धि भएको छ । इन्धन मूल्य वृद्धि तथा यातायात सञ्चालन खर्च बढेको भन्दै व्यवसायीहरूले भाडा बढाएका हुन् ।  मुगु जोड्ने सडक अधिकांश स्थानमा कच्ची, भिरालो र जोखिमपूर्ण छ । हिउँदमा धुलाम्य तथा वर्षामा हिलाम्य हुने सडकमा यात्रा गर्न यात्रुले सास्ती भोग्दै आएका छन् ।

कतिपय स्थानमा पहिरो, साँघुरा मोड र जीर्ण सडकका कारण यात्रा झन् कठिन बन्ने गरेको छ । यही कारण बिरामी, कर्मचारी, विद्यार्थी र सर्वसाधारण हवाई सेवातर्फ आकर्षित हुने गरेका छन् । स्थानीय पर्यटन व्यवसायी हरिकृष्ण ऐडीले सडकको अवस्था सुधार नहुँदा नागरिक बाध्य भएर महँगो हवाई यात्रा गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

स्थानीय शिक्षक मोहनकुमार मल्लले दुर्गम जिल्लाका नागरिकमाथि महँगीको असर झन् बढी परेको बताए । स्थानीयवासीले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी हवाई तथा सडक यातायातमा सहुलियत व्यवस्था गर्न र सडक स्तरोन्नतिमा सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् ।

Translate »