२०८३ साउन ११ , सोमबार
Sky News Nepal
July 27, 2026

सुर्खेतमा एलपी ग्यास अभाव : रातीको २ बजेदेखि लाईनबस्दा समेत ग्यास पाउँदैनन् उपभोक्ता



फोटो : – नारायण नाथ योगी

सुर्खेत । सुर्खेतका विभिन्न बजार क्षेत्रमा खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव भएपछि उपभोक्ता समस्यामा परेका छन् । करिब दुई महिनादेखि ग्यास सहजरुपमा उपलब्ध हुन नसक्दा उपभोक्ता सिलिन्डर बोकेर सव–डिलरदेखि डिलरसम्म धाउन बाध्य भएका हुन् ।

चौकुने गाउँपालिका–८, का दिनेश जोशीले घरमा ग्यास सकिएपछि नयाँ ग्यास खोज्न गुटुदेखि बाबियाचौरहुँदै कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरसम्म पुगे पनि कतै ग्यास नपाएको गुनासो गरे । उनले राप्ती ग्यास उपलब्ध नभएपछि अन्य कम्पनीको सिलिन्डर साटेर भएपनि ग्यास लिने प्रयास एक सातादेखि असफल भएको बताए ।

छोराछोरी शहरमा पढाउनका लागि सुर्खेतको वीरेन्द्रनगर–८, खजुरा बस्दै आईरहेकी रमिता जिसीले दुई दिनदेखि खाना पकाउने ग्यासको प्रतीक्षामा रहेको बताईन् । उनले शनिहललाईन स्थित भेरी ग्यासको डिलरमा सिलिन्डर बुझाएको भएपनि डिलरले सोमबारतिर मात्रै ग्यास आउने जानकारी दिएको सुनाईन् ।

कालिकोट घर भई बाङ्गेसीमलमा डेरा गरी बस्दै आएकी सीता विष्टले पनि धेरै ठाउँमा खोज्दा ग्यास नपाएको बताईन् । ग्यास अभावका कारण दैनिक खाना पकाउनै समस्या भएको उनको भनाइ छ । सुर्खेतमा करिब आधा दर्जन एलपी ग्यास कम्पनीका आधिकारिक डिलर रहेका छन् । अधिकांश डिलरमा दैनिकरुपमा केही परिमाणमा ग्यास आइरहेको भए पनि उपभोक्ताले सहजरुपमा पाउन सकेका छैनन् ।

खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो कसरी बाल्ने भन्ने पिरलो बढ्दै गएको हो । भेरी, राप्ती, मनकामना, रेडियन्टलगायत ग्यास खरिद गर्न लाइनमा लागेर पनि उपभोक्ताले सहजरुपमा ग्यास पाउन सकेका छैनन् । ग्यास लिन राति २ः०० बजेदेखि लाइनमा लागेपनि उपभोक्ता पाउन पाउन नसकेको उपभोक्ता बताउँछन् ।

प्रतिभरी सिलिण्डर दुई हजार ६० पर्ने सिलिण्डर रेटेलर व्यापारीहरुले दुई हजार ४ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको र त्यही मूल्यमा पनि ग्यास पाउन धौ–धौ हुने गरेको उपभोक्ताको गुनासो छ । स्थानीय उपभोक्ताका अनुसार केही सव–डिलरहरुले ग्यासको मूल्य पुनः बढ्न सक्ने हल्लाका कारण मौज्दात ग्यास बिक्री वितरण नगरी रोकिरहेको आशङ्का गरिएको छ ।

बजारमा कृत्रिम अभाव सिर्जना गरिएको भन्दै उपभोक्ताले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उपभोक्ताका अनुसार नेपाल आयल निगमले प्रति सिलिन्डर एक सय रुपैयाँ मूल्य घटाएपछि बजारमा ग्यासको अभाव देखिन थालेको हो । मूल्य समायोजनपछि नियमित बिक्री वितरण प्रभावित हुँदा सर्वसाधारण बढी मारमा परेका छन् ।

यता, ग्यास व्यवसायीहरुले भने आफूहरुलाई पर्याप्त परिमाणमा ग्यास प्राप्त नभएका कारण मागअनुसार आपूर्ति गर्न नसकिएको बताएका छन् । उपभोक्ताले कृत्रिम अभाव भए वा आपूर्तिमा समस्या कहाँ हो भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र सम्बन्धित निकायले तत्काल अनुगमन गरी सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

अर्कोतर्फ बजारमा अत्यावश्यक उपभोग्य वस्तुको अचाक्ली महँगीले सर्वसाधारणको दैनिक जीवन प्रत्यक्ष प्रभावित हुने भएकाले सम्बन्धित निकायको प्रभावकारी हस्तक्षेप आवश्यक देखिएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतको भनाइ छ ।

दुई महिनादेखि ग्यासको अभाव 

दुई महिनादेखि सुर्खेतमा ग्यासको अभाव कायमै रहँदा सर्वसाधारणको भान्सा प्रभावित भएको छ । उपभोक्ताहरुले सहजरुपमा खाना पकाउने ग्यास (एलपी ग्यास) पाउन नसकेको गुनासो गरिरहेका छन् ।

अहिलेपनि ग्यास विक्रेताकहाँ उपभोक्ताहरुको लामो लाइन लाग्ने गरेको छ । डिलरहरुले माग अनुसारको ग्यास आपूर्ति गर्न नसक्दा अर्कोतर्फ बजारमा अभाव देखाएर महँगोमा ग्यास बिक्री वितरण भइरहेको उपभोक्ताले गुनासो गरेका छन । बजारमा मूल्य बढ्ने आसमा ग्यास लुकाउने प्रवृत्ति बढेको आशंका गरिएको छ ।

माग र आपूर्तिको असंतुलन विग्रिएपछि समस्याको समाधानका लागि स्थानीय प्रशासन र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले बजार अनुगमनलाई तीव्र बनाउन आवश्यक देखिएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष कुमारी भुसालले बताईन् ।

निगरानी बढाउँदै प्रशासन

ग्यास अभावबारे सरोकारवाला निकायको कडा टिप्पणी र आलोचना पछि जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्की नेतृत्व, नेपाल आयल निगम, उद्योग वाणिज्य, राष्ट्रिय उपभोक्ता मञ्च तथा पत्रकारहरुको टोलीले अभावको वास्तविकता बुझ्न भेरी ग्यासलगायत कम्पनी तथा डिलरहरुमा नियमित अनुगमन गरिरहेको छ ।

उक्त अनुगमनका क्रममा बजारमा ग्यासको माग उच्च तथा आपूर्ति निकै कम भएपछि यसको अभाव भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए ।

‘प्रहरी प्रशासनको निगरानीमा विभिन्न कम्पनीका ग्यास वितरणमा कोही नदोहोरिने गरी सहज तरिकाले उपभोक्ताले पाउने वातावरण मिलाएका छौं,’ उनले भने, ‘खास कति सिलिण्डर उपभोक्तालाई चाहिन्छ त भन्ने यकीन तथ्याङ्क नहुँदा वितरण कार्य व्यवस्थित हुन नसकेको हो ।’ उनले सुर्खेतका उपभोक्ता भन्दापनि दैलेख, कालिकोट, मुगु, जुम्ला, हुम्लालगायतका जिल्लाका उपभोक्ताको रोजाईपनि सुर्खेत नै भएकाले माग र आपूर्तिको असन्तुलन विग्रिएको हुन सक्ने आशंका व्यक्त गरे ।

उनका अनुसार सुर्खेतमा पछिल्लो एक/दुई वर्षको ग्यास आपूर्ति विक्रीवितरणको तथ्यांकलाई हेर्ने हो भने माग भन्दा आपूर्ति नै बढी भएको देखिन्छ । तर, पछिल्लो दुई महिना यता एक्कासी एलपीजी ग्यासको माग र आपूर्तिको संतुलन विग्रिएपछि प्रशासनले उपभोक्ताको समस्यालाई गम्भीरतापूर्वक लिएर सुक्ष्म तथा वृहत अनुगमन कार्यलाई तीव्रता दिएको उनको भनाइ छ ।

उनले ग्यासको माग र आपूर्ति वीचको सन्तुलन विगारेर कृत्रिम अभाव सृजना गर्ने दोषीलाई पत्ता लगाई कानूनी दायरामा ल्याउने प्रयास जारी रहेको बताए ।

ग्यास अभाव छैन :  निगम

नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट गरेको छ । निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रुपमा आयात भइरहेको छ ।

पछिल्लो समय अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासका कारण आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने प्रवृत्ति बढेकाले बजारमा वितरणमा केही प्रभाव देखिएको नेपाल आयल निगम सुर्खेतका प्रमुख दिपक कुमार घिमिरेले जानकारी दिए । उपभोक्ताको सहजताका लागि ‘एक व्यक्ति, एक सिलिन्डर’ को व्यवस्था लागू गरी अधिकृत बिक्रेतामार्फत विभिन्न कम्पनीका दुई हजार ९२२ वटा एलपी ग्यास १४ दशमलव २ केजीको प्रति सिलिन्डर रु दुई हजार ६० मा बिक्री–वितरण भईरहेको प्रमुख घिमिरेले बताए ।

त्यस्तै, नेपाल ग्यासका ३२० वटा सिलिन्डर वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको न्यू जानकी ट्रेड एण्ड सप्लायर्समार्फत वितरण भईरहेको उनको भनाइ छ । नेपाल आयल निगमले उपभोक्तालाई अधिकृत बिक्रेताबाट मात्र ग्यास खरिद गर्न, अनावश्यक रुपमा ग्यास सञ्चय नगर्न तथा तोकिएको मूल्यभन्दा बढी रकम असुल गरेको, मौज्दात हुँदाहुँदै ग्यास बिक्री नगरेको वा अनधिकृत रुपमा सञ्चय गरेको जानकारी भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेको छ ।

यता उपभोक्ताले भने निगमको दाबीभन्दा फरक अवस्था रहेको बताएका छन् । वीरेन्द्रनगरकी स्थानीय विजुली शाहीले लगातार चार दिनसम्म ग्यास खोज्दा पनि नपाएको बताइन् । ‘राति २ बजेदेखि लाइनमा बसें तर पनि ग्यास पाइएन । पहुँच र शक्ति भएकाले मात्र ग्यास पाइरहेका छन्,’ उनले गुनासो गरिन् ।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार
Translate »