

सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आव्हान गरेका छन् ।
प्रदेश प्रमुख जोशीले शनिबार मुख्यमन्त्री यामलाल कँडेलले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आव्हान गरेका हुन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दाबी पेश गर्न आव्हान गरिएको छ ।
प्रदेश प्रमुख जोशीले बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई साउन १२ गते साँझ ५ः०० बजे भित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेस गर्न आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तका लागि आव्हान गरेका हुन् ।

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुनअघि नै मुख्यमन्त्री कँडेलले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । कँडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएका थिए ।
मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदको दाबी पेश गर्न आव्हान गर्ने संवैधानिक प्रक्रिया अगाडि बढेको छ । ४० सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका १५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १३, सभामुखसहित नेकपा एमालेका १०, राप्रपा र अन्य १/१ जना सदस्य छन् ।
प्रदेशमा सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । बहुमतका लागि नेकपा र एमालेको गठबन्धन पर्याप्त छ । नेकपा संसदीय दलको प्रमुख सचेतक कृष्णबहादुर जिसी मुख्यमन्त्री बन्ने नेकपा निकट स्रोतले जनाएको छ । तर नेकपाले निर्णय भने गरिसकेको छैन् ।












