

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् ।
आज बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उनी विरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वासको प्रस्तावमाथि आज दिउँसो बसेको प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएका हुन् ।
अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिएका मुख्यमन्त्री कँडेलले सुरुमै आफ्नो धारणा राख्दै प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जनाए ।

उनले आफ्ना लागि कुर्सी नै ठूलो कुरा नरहेको बताउँदै आफ्नो कार्यकालमा थुप्रै सुधारका काम भएको स्मरण गरे । मुख्यमन्त्री कँडेल पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा मुख्यमन्त्री बनेका थिए ।
पछि केन्द्रमा समिकरण परिवर्तन भएपछि कँंग्रेसको समर्थनमा आधाआधा कार्यकाल भागबण्डा गरी २०८१ साउन २१ गतेदेखि नेपाली काँग्रेससँगको गठबन्धनमा पनि मुख्यमन्त्री कँडेलले सरकारको नेतृत्व गर्दै आएका छन् ।
४० सदस्यीय प्रदेशसभामा काँग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपा र अन्य १÷१ जना सदस्य छन् । प्रदेशमा सरकार गठनका लागि २१ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।
अविश्वासको प्रस्तावमै काँग्रेसले संसदीय दलका नेता जीवनबहादुर शाहीलाइ नयाँ मुख्यमन्त्री बनाउने उल्लेख छ । यसअघि गत असार ३१ गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काँग्रेसका चार मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।











