‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (पान) सुर्खेत अब पालिका स्तरसम्म पुग्दै

सुर्खेत । ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (पान) ले क्षमता अभिबृद्धि तथा नीतिगत बहसका लागि जिल्लाव्यापी संगठन विस्तार गर्ने निर्णय गरेको छ ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न पान सुर्खेतको तेस्रो जिल्ला अधिवेशनले सार्वजनिक शिक्षाको गुणस्तर सुधार, नेतृत्व क्षमता अभिवृद्धि तथा शैक्षिक रुपान्तरणका विषयमा महत्वपूर्ण निर्णय गरेको हो । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको गैरराजनीतिक तथा गैरनाफामूलक साझा संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) सुर्खेतले जिल्लाका सबै सामुदायिक विद्यालयसम्म आफ्नो सदस्यता विस्तार गर्ने निर्णय गरेको छ ।

शैक्षिक उत्कृष्टता, नेतृत्व विकास एवं गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्नु नै सम्मेलनको मुख्य उद्देश्य रहेको पान सर्खेतका सभापति दुर्गा शाक्यले बताईन् । उनले प्रधानाध्यापकहरुको पेसागत तथा प्राज्ञिक विकासका लागि तालिम तथा आपसी समन्वयलाई प्रभावकारी बनाउन पालिका स्तरसम्म पानको विस्तार गरिने योजना रहेको जनाईन् ।

‘हामी क्षमता अभिवृद्धिसँगै शिक्षा क्षेत्रको विकास, विद्यालय प्रशासन र व्यवस्थापन सुधारका लागि नीतिगत सुझाव तथा वकालत गर्ने योजना बनाएका छौं,’ उनले भनिन्, ‘वार्षिक कार्ययोजना (एक्सन प्यान) अनुसार नै प्रधानाध्यापकहरुलाई एकवतावद्ध गरी शैक्षिक उत्कृष्टता, नेतृत्व विकास र सहकार्यलाई प्रवद्र्धन गर्दैछौं ।’  उनले पेसागत क्षमता अभिवृद्धिसँगै शिक्षा क्षेत्रमा नीतिगत वकालत गरी विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नु नै पानको मुख्य उद्देश्य रहेको बताईन् ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको पेसागत, शैक्षिक, प्राज्ञिक विकासका लागि पानले सबै खाले विद्यालयहरुको कार्यसम्पादन र प्रधानाध्यापकहरुको कुशल नेतृत्व सीप विकासका लागि नेतृत्वदायी भूमिका खेल्दैं आईरहेको उनको भनाइ छ । उनले विद्यालय प्रशासन, व्यवस्थापन, नीति सुझाव, तालिम तथा विभिन्न शैक्षिक गतिविधिहरुको समन्वय गर्दै शिक्षा क्षेत्रको विकासका लागि पानले निरन्तर पहल गरिरहेको जानकारी दिईन् ।

सम्मेलनमा पान कर्णाली प्रदेश सभापति नवराज घिमिरे, महासचिव पूर्णप्रसाद पौडेल, पूर्व जिल्ला सभापति नेत्रप्रसाद चालिसे, वरिष्ठ प्रधानाध्यापक चन्द्रप्रसाद सापकोटा, रुद्रबहादुर खत्री तथा पालिका संयोजकहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

Translate »