४ वर्षदेखि प्रदेश आयुर्वेद अस्पतालको भवन अधुरो हुँदा सेवा प्रवाहमा समस्या


सुर्खेत । पछिल्लो समय आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिप्रति बिरामीको आकर्षण बढ्दै गएको छ ।
सुर्खेतको वीरेन्द्रनगर–४, स्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको सेवा बिस्तारसँगै बिरामीको आकर्षण बढ्दै गएको हो । आयुर्वेदिक चिकित्सा पद्धतिबाट रोगको निदान सहज र सर्वसुलभ तरिकाले हुने भएकाले उपचारका लागि आउने बिरामीको संख्यामा वृद्धि हुँदै गएको अस्पतालले जनाएको छ ।
तर, निर्माण ठेकेदारको ढिलासुस्तीले चार वर्षभन्दा बढी समयदेखि अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको हो । भवन निर्माण ढिलाइका कारण बिरामीले पुरानो र साँघुरो भवनबाट सेवा लिन बाध्य हुनुपरेको छ । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतले उक्त भवन निर्माण सम्पन्न गर्न तीन पटक समयावधि थप गरेपनि सन्तोषजनक प्रगति हुन सकेको छैन् ।
२०७८ असार ३० गतेबाट अस्पताल भवन निर्माण प्रक्रिया सुरु गरेपनि हालसम्म ५० प्रतिशत काम भएको छ । १८ करोड २२ लाख लागत सम्झौता रहेको उक्त भवन निर्माणको काम कौशल जगदम्बा सुपरस्टार निर्माण कम्पनीले २०७९ फागुन ३ गतेसम्म सम्पन्न गर्ने भनेर जिम्मेवारी लिएको थियो ।
निर्माण व्यवसायी कालिकोटकी तारा शाहीले लिएको यो ठेक्काको काम समयमै सम्पन्न नहुँदासेवा प्रवाहमा समस्या पर्दै आएको अस्पतालले जनाएको छ । अधुरो भवन निर्माणका लागि २०८१ फागुन २९ गतेसम्म म्याद थप गरिएको थियो । १५ शैयाको भवन निर्माण गर्ने उद्देश्यसहित संघीय आयोजना कार्यान्वयन इकाईबाट बजेट व्यवस्थापन गरिएको थियो ।

अस्पतालका निर्देशक डाक्टर लक्ष्मीनारायण तिवारीले निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण तोकिएको समयमा भवन बन्न नसकेको बताए । ठाउँठाउँका संरचना अलपत्र पारेकी सुपरस्टार कन्स्ट्रक्सनकी सञ्चालक तारा शाहीले लिएका अन्य स्वास्थ्य संस्थाका संरचनाको काम पनि अलपत्र अवस्थामै रहेको पाइएको छ ।
उनले अन्य कम्पनीसँग मिलेर जिल्ला अस्पताल दैलेख, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणको काम समेत अलपत्र पारेकी छिन् । कर्णाली प्रदेश सरकार मातहतमा रहेको अस्पतालले ३० बेडको मान्यता मान्यता पाएको छ । तर संरचना नहुँदा अहिले १२ बेडको मात्र सेवा दिईरहेको अस्पतालका नर्सिङ अधिकृत कृष्णा खनालले बताईन् ।

‘भवन अभाव हुँदा तोकिएको संख्याको बेडबाट दिने उपचार सेवा दिन सकेका छैनौं, अहिले १२ बेडको मात्र सेवा दिने गरेका छौं,’ उनले भनिन्, ‘अस्पतालको भवन निर्माण तोकिएको समयमा निर्माण हुन नसक्दा ४ वर्षदेखि अलपत्र अवस्थामा छ, छिटो भवन निर्माणका लागि सबैको सहयोग आवश्यक देखिन्छ ।’
यता अस्पतालका सूचना अधिकारी (वरिष्ठ कविराज निरीक्षक) श्रीराम आचार्यले बिरामीको चाप वृद्धि हुन थालेपछि जनशक्ति अभाव समेत खट्किन थालेको जनाए । उनका अनुसार अस्पतालले आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिको प्रचारप्रसारका लागि सञ्चार माध्यमसँगै विभिन्न जिल्लाहरुमा स्वास्थ्य शिविरको आयोजना गरेर आम नागरिकलाई जानकारी गराउँदै आएको छ ।
‘५ वर्ष अघिसम्म दैनिक करिब दुई दर्जन जति बिरामी उपचार सेवाका लागि आउने गर्थे । तर आजभोलि दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्,’ उनले भने, ‘अस्पतालमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको संख्या धेरै छ, विशेष गरेर हड्डी दुखाइका विरामीहरु अत्यधिक आउने गरेका छन् ।’

उनका अनुसार कतिपय बिरामीहरु भने अन्य उपचार गराएर रोग निको नभएपछि आयुर्वेदतर्फ आउने गरेका छन् । उनले अस्पताल आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहार विहार र योग तथा मनोसामाजिक परामर्श समेत दिएर उपचार गरिरहेको जनाए ।
‘स्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रुपमा सेवा प्रवाह गर्न नसकिएको सत्य हो्,’ उनले भने, ‘प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आयुर्वेद उपचारलाई चुस्तदुरुस्त बनाउन सकिन्छ, त्यसका लागि अस्पतालको तत्काल भौतिक संरचना निर्माण अति जरुरी छ ।’
आर्युेवेद पूर्वीय चिकित्सा पद्धति रहेपनि कर्णालीमा आर्युेवेद चिकित्सा विज्ञानको अध्ययन र अनुसन्धान नहुँदा ओझेलमा पर्दै आएको उनको भनाइ छ ।


