

नयाँ दिल्ली । निट प्रश्नपत्र लिक प्रकरणमा दोषी ठहर गर्दै राजीनामाको मागसहित निरन्तर आन्दोलन भएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् ।
उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन चलिरहेको छ । प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिएका छन् । प्रधानको राजीनामाको खबरसँगै जन्तरमन्तरमा प्रदर्शनकारीहरुले खुसीयाली मनाउन थालेका छन् ।

सीजेपीका संस्थापक अभिजित् दिपकेले प्रधानको राजीनामालाई ठूलो जितको रुपमा व्याख्या गरेका छन् । शिक्षामन्त्री प्रधानको राजीनामापछि प्रतिक्रिया दिँदै दीपकेले भनेका छन्, ‘मानिसहरु यो सरकारमा राजीनामा हुँदैन भन्थे । झुक्छ संसार, झुकाउने मान्छे चाहियो ।’
आन्दोलनकारीहरुले मन्त्रीप्रधानको राजीनामाभन्दा कममा सम्झौता नगर्ने अडान राख्दै आएका थिए । प्रधानको राजीनामालाई आफ्नो जितका रुपमा व्याख्या गर्दै दीपकेले भने, धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । यदि तपाईं डराउनुहुन्न र यो सरकारसामु झुक्नुहुन्न भने जसको पनि राजीनामा लिन सकिन्छ भन्ने कुराको यो प्रमाण हो । लोकतन्त्रमा डराउनुपर्ने आवश्यकता छैन ।’











