२०८३ साउन १७ , आइतबार
Sky News Nepal
August 3, 2026

सिद्धपाइलामा भर्ना भएका कक्षा ११ का नवआगन्तुक विद्यार्थीको भव्य स्वागत



वीरेन्द्रनगर । सुर्खेतको सिद्धपाइला इङ्ग्लिस मिडियम सेकेण्डरी स्कूलमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार सुर्खेतको वीरेन्द्रनगर स्थित शुभ होटलको सभाहलमा कक्षा १२ का विद्यार्थीले कानुन, व्यवस्थापन र होटेल व्यवस्थापन संकायमा भर्ना भएका नयाँ विद्यार्थीलाई विद्यालय परिवारमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेका हुन् ।  कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरुमा विद्यालयप्रति अपनत्व, उत्साह र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै विद्यालय परिवारबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको कक्षा १२, कानून संकायका छात्रा अस्मिता खड्काले बताईन् ।

कार्यक्रममा सुर्खेत जिल्ला अदालतका न्यायाधीस बसन्त जोशीले विद्यार्थी जीवन भविष्य निर्माणको सबैभन्दा महत्वपूर्ण चरण भएकाले स्पष्ट लक्ष्य निर्धारण, नियमित अध्ययन, अनुशासन, समयको सदुपयोग र सकारात्मक सोचलाई जीवनशैलीकारुपमा आत्मसात् गर्न आग्रह गरे ।  उनले मेहनत, अनुशासन, सकारात्मक सोच र निरन्तर प्रयासका माध्यमबाट विद्यार्थीहरुले आफ्नो शैक्षिक यात्रालाई सफल बनाउनुपर्नेमा जोड दिए ।

वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखाका अधिकृत रामलाल आचार्यले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणलाई केन्द्रमा राखेर सिद्धपाइलाले आधुनिक, व्यावहारिक तथा नतिजामुखी शिक्षण प्रणाली अवलम्बन गरिरहेको बताए । विद्यालयले उपलब्ध गराउने शैक्षिक तथा अतिरिक्त क्रियाकलापका अवसरहरुको अधिकतम् सदुपयोग गर्दै ज्ञान, सीप र असल चरित्रले सम्पन्न जिम्मेवार नागरिकका रुपमा आफूलाई स्थापित गर्न विद्यार्थीलाई उनले सुझाव दिए ।

सिद्धपाइलाका प्रिन्सिपल नैनसिंह खत्रीले गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारलाई सँगसँगै अघि बढाउँदै विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा स्कूलले निरन्तर योगदान पु¥याउँदै आएको दावी गरे । विद्यालयले शैक्षिक उत्कृष्टतासँगै नेतृत्व क्षमता, व्यक्तित्व विकास र नैतिक मूल्यको प्रवद्र्धनलाई पनि समान प्राथमिकता दिएको उनले बताए ।

सिद्धपाइलाका सहायक प्राचार्य हिराकुमारी क्षेत्रीले नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालय परिवारमा हार्दिक स्वागत गर्दै स्कूले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणलाई केन्द्रमा राखेर आधुनिक, व्यावहारिक तथा नतिजामुखी शिक्षण प्रणाली अवलम्बन गरिरहेको बताईन् । विद्यालयले उत्कृष्ट शैक्षिक उपलब्धिसँगै अनुशासित, नैतिक, जिम्मेवार र सामाजिक उत्तरदायित्व बोध भएका सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ शिक्षण–सिकाइ गतिविधिहरु सञ्चालन गर्दै आएको उनले जनाईन् ।

कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुको स्वागतलाई थप उल्लासमय बनाउन गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । साथै, स्थानीय कलाकारहरुले समेत आफ्नो आकर्षक सांगीतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउँदै विद्यार्थी तथा प्राध्यापकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

 

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार
Translate »