

सुर्खेत । खाना पकाउने एलपी ग्यास अभावका कारण सुर्खेतसहित कर्णालीका विभिन्न स्थानका उपभोक्ता समस्यामा परेका छन् । डिलर तथा विक्री केन्द्रमा दिनभर लाम बस्दा पनि ग्यास नपाएको गुनासो बढ्दै गएको छ ।
वीरेन्द्रनगर–१०, घुस्राकी कलावती चौधरी तीन दिनदेखि भेरी ग्यासको रित्तो सिलिन्डर लिएर एयरपोर्ट चोक स्थित सव–डिलरमा पुगिन् । आफूले सधैं ग्यास किन्ने पसलले कम्पनीबाट ग्यास नै नआएको बताएपछि एयरपोर्ट चोक स्थित सव–डिलरमा वितरण भइरहेको सूचना पाएर त्यहाँ पुगेकी उनी विहानको झरीमा लाममा बसे पनि ग्यास नपाई रित्तो सिलिन्डर बोकेर फर्किन् ।
करीब तीन घण्टा लाम बसेपछि भेरी ग्यास नपाईने भनेपछि रित्तो सिलिन्डर बोकेर फर्किनुपरेको उनले गुनासो गरिन् । ग्यास अभावले परीक्षाको तयारीमा बसेका विद्यार्थी, गर्भवती, बृद्धबृद्धा र विपन्न वर्गले धेरै दुःख पाईरहेका छन् । बजारमा ग्यास अभाव बढिरहेका वेला नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले भने आयातमा समस्या नभएको दावी गरेको छ ।

निगमका सुर्खेत प्रतिनिधि रामकुमार कुमालले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको र नियमित माग धान्न सक्ने गरी आयात भइरहेको बताए । उनका अनुसार अहिले देखिएको समस्या आपूर्ति घटेका कारण नभई एकैपटक ठूलो संख्यामा खाली सिलिन्डर बजारमा आउँदा उत्पन्न भएको हो ।
‘बजारमा खपत हुने परिमाण बराबरको ग्यास आइरहेको छ । ग्यास नआएको होइन, ‘कुमालले भने, ‘तर १४ दशमलव २ किलोको सिलिन्डर पुनः पूर्ण रुपमा वितरण हुन थालेपछि उपभोक्तासँग रहेका धेरै खाली सिलिन्डर एकैपटक बजारमा आएका छन् । त्यसैले तत्काल माग बढेको देखिएको हो । केही दिनमा विस्तारै यो अवस्था कम हुन्छ ।’ यद्यपि बजारमा भेरी, राप्ती र मनोकामना ब्रान्डको ग्यास सहजरुपमा उपलब्ध नभएको गुनासो कायमै छ ।
निगमको सुर्खेत कार्यालयका अनुसार सुर्खेतमा मासिक करीब २२ देखि २६ हजार एलपी ग्यास सिलिण्डर खपत हुन्छ । साउनको १९ गतेसम्म करिब ३५ हजार सिलिण्डर ग्यास आयात हुँदा पनि बजारमा अभाव देखिएको छ । यता राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष कुमारी भुसालले डिलरबाट ग्यास नपाएका र अति आवश्यक भएका उपभोक्तालाई निगमले छुट्टै व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।


उनले घरमा प्रयोग हुने ग्यास र होटल तथा उद्योगका लागि प्रयोग हुने ग्यासको रंग फरक बनाएर उपभोक्ता वितरण गर्न समेत सुझाव दिईन् । उपभोक्ताको मागलाई तत्काल सम्बोधन गर्न नेपाल आयाल निगमले पर्याप्त आयात सुनिश्चिताका लागि अधिकतम् प्रयास जारी राख्नु पर्ने उनको भनाइ छ ।
विभिन्न माध्यमबाट ग्यास अभावको खबर सम्प्रेषण भएपछि कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई नियमित अनुगन गर्न निर्देशन दिएको छ । मंगलवार कार्यालयका प्रमुख देवीप्रसाद सापकोटाको नेतृत्वमा गएको अनुगमन टोलीले ग्यास वितरण प्रक्रिया, वितरकको अवस्था, उपभोक्ताले भोग्नु परिरहेका समास्याहरु संकलन गरी निदानका उपायहरु अवलम्वन गरिरहेको बताएको छ ।

‘अनुगमनका क्रममा अघिल्ला वर्षको यसै अवधिको तुलनामा हाल पर्याप्त परिमाणमै ग्यास आयात र वितरण भइरहेको पाईएपनि अभाव कायमै देखियो,’ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख सापकोटाले भने, ‘साउन महिनादेखि पुनः भरी सिलिन्डर वितरण प्रारम्भ गरिएपछि ग्यासको मागमा एकाएक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको पाईयो ।’
उनले ग्यासमा कृत्रिम अभाव र कालोबजारी गरे कडा कारबाही गरिने बताए । उनका अनुसार कार्यालयले बजार अनुगमनलाई तीव्र बनाएको छ । ग्यास वितरणको असहजता केही दिनमा पूर्ण रूपमा समाधान हुने भएकाले अफवाह र भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आयल निगमले उपभोक्ताहरुसँग अनुरोध गरेको छ।












