२०८३ भदौ १० , बुधबार
Sky News Nepal
August 26, 2026

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन



दाङ । लुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ ।

पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्ज र नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिबिच सम्झौता गरी दुर्घटना बीमा गरिएको हो ।

मन्त्रालयका तर्फबाट प्रदेश सचिव भरतमणि पाण्डे, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रमुख नवीन शर्मा पौडेल र नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य ओमप्रकाश गुप्ताले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार लुम्बिनी प्रदेशमा क्रियाशील १ हजार २०६ जना पत्रकारको प्रतिव्यक्ति ५ लाख ६५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पत्रकारहरूको सामूहिक दुर्घटना बीमा कार्यक्रम कार्यान्वयन गरिएको हो ।

पत्रकारिता पेसामा समाचार सङ्कलन, स्थलगत रिपोर्टिङ तथा विपद्, दुर्घटना र जोखिमयुक्त क्षेत्रमा पुगेर काम गर्नुपर्ने भएकाले सम्भावित दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्न बीमा कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । बिमाले पत्रकारलाई पेशागत कार्यका क्रममा हुन सक्ने दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिमा राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार
Translate »