

सुर्खेत । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाका १३४ जना सम्पर्कविहीन भएका छन् ।
बुधबार आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका आफन्त तथा परिवारका सदस्यहरुले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा टिपाएको प्रारम्भिक विवरणका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय यो तथ्यांक सार्वजनिक गरेको हो ।
सम्पर्कविहीन हुनेहरुमध्ये कर्णालीका विभिन्न जिल्लाबाट सडक तथा जलविद्युत आयोजनामा मजदुरी गर्न गएकाहरु धेरै छन् । अध्ययन, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुमा कार्यरत कर्मचारी, सुरक्षा निकायमा कार्यरत व्यक्तिहरुको अवस्था पनि अज्ञात रहेको प्रहरीले जनाएको छ । हालसम्म उपलब्ध तथ्यांक अनुसार सम्पर्कविहीन हुनेहरुमा १०८ जना पुरुष, १७ जना महिला, ६ जना बालक र तीन जना बालिका छन् ।

जिल्लागत रुपमा सबैभन्दा धेरै सल्यानका ४९ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ४० पुरुष, ६ महिला, २ बालक र १ बालिका सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार रसुवा र नुवाकोट जिल्लामा सडक र जलविद्युत आयोजनामा मजदुरी तथा अन्य कामको शिलशिलामा रहेका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको विवरण परिवार तथा सदस्यले टिपाएका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (एसएसपी ) सन्तोष सिंह राठोरले यो संख्या अझ तलमाथि हुन सक्ने बताउनु भयो । उहाँका अनुसार सुर्खेतका १० जना पुरुष, १ जना महिला गरी ११ जना सम्पर्कविहीन भएका छन् । दैलेखका ४ जना पुरुष र १ जना महिला गरी ५ जना सम्पर्कविहीन छन् ।
जाजरकोटका ३ जना पुरुष, रुकुम पश्चिमका १ पुरुष, २ महिला र १ बालक गरी ४ जना, जुम्लाका ३१ जना पुरुष, हुम्लाका ७ पुरुष, ३ महिला, १ बालक र १ बालिका गरी १२ जना परिवारको सम्पर्कमा आएका छैनन् । त्यस्तै डोल्पाका १ पुरुष, १ महिला गरी २ जना, मुगुका ८ पुरुष, २ महिला, २ बालक गरी १२ जना, कालीकोटका ३ पुरुष, १ महिला र १ बालक गरी ५ जना सम्पर्कविहीन छन् ।












