२०८३ भदौ १४ , आइतबार
Sky News Nepal
August 30, 2026

करोड लगानीको खाद्य उद्योग सञ्चालन



सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगरमा कृषकबाट रैथानेबाली खरिद गरी प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्यले ‘वातावरण खाद्य उद्योग’ सञ्चालनमा आएको छ ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले दुई करोड लगानी लक्ष्यसहित शनिबारदेखि विधिवतरुपले खाद्य उद्योग सञ्चालनमा ल्याएको हो । हाल १ करोड २५ लाख लगानी रहेको कुटानी, पिसानी खाद्य उद्योगबाट उत्पादित वस्तु जिल्ला बाहिर निर्यात गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याईएको सहकारीका अध्यक्ष खगेन्द्रप्रसाद भट्टराईले बताए ।

उनले कर्णालीका कृषकले उत्पादन गरेका रैथाने बाली (कोदो, फापर, जौ, चिनो, कागुनो) को प्रवद्र्धन गर्न आधुनिक कुटानी–पिसानी सहितको खाद्य उद्योग सञ्चालनमा ल्याईएको जनाए ।

‘आधुनिक मेसिनरीबाट प्रशोधन गरी रैथाने उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यसहित उद्योग सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘अटोमेटिक सिस्टमबाट सञ्चालित चामल कुट्ने, तेल पिल्ने र विभिन्न अन्न पिसानी गर्ने छुट्टाछुट्टै मेसिनले उपभोक्ताको अपेक्षामा खडा उत्रिने विश्वास लिएका छौं ।’

उनले उद्योग मार्फत सेवालाई नै धर्म सम्झेर स्थानीय उत्पादनलाई जिल्ला बाहिर निर्यात गरी कर्णालीको कृषकको आय आर्जनसँगै पहिचान स्थापित गर्न सहयोग पुग्ने अपेक्षा लिएको बताए । उद्योग सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको उपयोग बढ्नुका साथै किसानको उत्पादनले बजार पाउने र ग्रामीण अर्थतन्त्रमा सानो भएपनि योगदान पुग्ने अपेक्षा गरिएको उनको भनाइ थियो ।

आधुनिक प्रविधिमा आधारित खाद्य उद्योग सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रमा उत्पादन हुने रैथाने खाद्य वस्तुको संकलन, प्रशोधन तथा बजारीकरणमा सहयोग पुग्ने सहकारीका प्रबन्धक श्याम न्यौपानेको दावी छ । उद्योग निर्माणका लागि हालसम्म करिब १ करोड २५ लाख रुपैयाँ लगानी गरिएको बताउँदै छिट्टै थप पूर्वाधार निर्माणका लागि दुई करोड लगानी गर्ने योजना रहेको उनले बताए ।

उद्योगको उद्घाटन गर्दै सहकारीका सल्लाहकार तथा प्रसिद्ध समाजसेवी कमलराज रेग्मीले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै त्यसको प्रशोधन र बजारीकरणमा जोड दिन उद्योग सञ्चालकहरुलाई सुझाव दिए । उनले स्थानीयस्तरमा उत्पादन हुने रैथाने खाद्य वस्तुलाई व्यावसायिक रुपमा प्रवद्र्धन गरी कृषकको आय आर्जनमा टेवा पु¥याउन आग्रह गरे ।

खासगरी शेयर सदस्यहरुले उत्पादन गरेका ग्रामीण रैथाने बालीहरुको प्रवद्र्धन गरी बजारीकरण गर्नु पर्नेमा उनको जोड थियो ।

 

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार
Translate »