

सुर्खेत । सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतबाट बीमा सम्बन्धी सचेतनामूलक सन्देश निरन्तर प्रसारण गरिने भएको छ ।
बीमा सचेतना अभिवृद्धि सम्बन्धि सन्देश प्रसारण गर्नका लागि आज रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेत र नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतबिच द्विपक्षीय सम्झौता भएको हो । सम्झौता भएसँगै कर्णाली प्रदेशका नागरिकलाई लक्षित गरी बीमा सम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरु रेडियो नेपालको सुर्खेत प्रसारण केन्द्रबाट प्रसारण हुनेछ ।

ग्रामीण तथा स्थानीय स्तरसम्म बीमा सम्बन्धी साक्षरता बढाउनु र नागरिकलाई सुरक्षित भविष्यका लागि सचेत गराउनु नै सम्झौंताको मुख्य उद्देश्य रहेको बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक विपना पन्थीले बताईन् । उनले जनचेतनामूलक सन्देश मार्फत कर्णाली प्रदेशभर बसोबास गर्ने विपन्न, न्यून आय भएका तथा जोखिमयुक्त वर्गलाई बीमाको दायरामा समेट्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
यता रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका निमित्त कार्यालय प्रमुख नरेशसिंह थापाले जीवन बीमा, निर्जीवन बीमा, कृषि तथा पशु बीमाका फाइदा र दाबी भुक्तानी प्रक्रियाका बारेमा सरल भाषामा जानकारी गराईने बताए । उनले सचेतनामूलक सन्देश मार्फत बीमा सम्बन्धी कुनै पनि भ्रमहरुलाई चिर्दै सही र आधिकारिक सूचना प्रवाह गरिने दावी गरे ।
सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक पन्थी र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख थापाले हस्ताक्षर गरेका हुन् ।












