

सुर्खेत । भोटेकोशी बाढीपीडितहरुको सहयोगका लागि सुर्खेत उद्योग वाणिज्य संघ (सुउवासंघ) ले आर्थिक सहयोग संकलन गरेका छ ।
संघले आफ्ना सदस्यहरुबाट स्वस्फूर्त रुपमा संकलन गरेको ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ आज प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको हो । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संघले प्राकृतिक विपद्का बेला बाढीबाट प्रभावित नागरिकको उद्दार, राहत र पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको जनाएको छ ।

संघका अनुसार उक्त सहयोग रकम मध्य वीरेन्द्रनगर बजार क्षेत्रका व्यवसायीबाट १ लाख ११ हजार ५ सय ७०, संघका पदाधिकारी तथा कार्यसमितिबाट १ लाख ७५ हजार ७ सय ६० र वस्तुगत समितिबाट १६ हजार ३ रुपैयाँ संकलन भएको हो । संघका अध्यक्ष हर्षविक्रम खड्काले राहत सहयोग रकममै सीमित नराखी आगामी दिनमा समेत बाढीपहिरो प्रभावित नागरिकका लागि लत्ताकपडा, खाद्यान्नलगायत अन्य राहत सामग्री उपलब्ध गराइने जानकारी दिए ।
विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको बताउँदै उनले प्राकृतिक विपद् कुनै एक क्षेत्र, समुदाय वा व्यक्तिको मात्र समस्या नभई साझा पीडा भएकाले कठिन परिस्थितिमा सबै पक्ष एकजुट हुन अपिल गरे । राहत तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा नागरिक समाजबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
उनका अनुसार सुर्खेतका केही व्यवसायीले संघको पहलभन्दा अघि नै व्यक्तिगत रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहयोग रकम जम्मा गरिसकेका छन् ।











