

लक्ष्मी विक/सुर्खेत । कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्लासम्मका तीन जिल्लामा छुट्टाछुटै पहिरोले अबरुद्ध सडक ७२ घन्टापछि सुचारु भएको छ ।
शनिबार बेलुकीदेखि अबरुद्ध सुर्खेतको बराहताल गाउँपालिका–७, औलिसे, कालिकोटको एस मोड, पिलि र गगने खोला एवं जुम्ला–मान्म सडकखण्ड अन्तर्गत सेरावाडा, सिम्ले र सिम्ले मोडमा गएको पहिरो मंगलबार साँझ ४ बजे हटाईएपछि कर्णाली राजमार्ग पूर्णरुपमा सुचारु भएको हो ।
सुर्खेतको बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ २ सय ३२ किलोमिटर छ । पहिरोले तीनदेखि अवरुद्ध सुर्खेतखण्डको बराहताल गाउँपालिका–७, औलिसेमा सडक माथिबाट आएको पहिरोले अवरुद्ध राजमार्ग दुई दिनको अथक प्रयासपछि सडक डिभिजन कार्यालय सुर्खेत र दैलेखको संयुक्त प्रयासले सडक सुचारु भएको हो ।

दुई दिनदेखि लगातार पहिरो खस्ने क्रम जारी रहेको हुँदा तत्काल काम गर्न जोखिम रहेकाले पहिरो हटाउन समय बढी लागेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।अन्दाजी १५ मिटर माथिबाट १५ मिटर सडकखण्डमा पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय दैलेखबाट आएको लोडर र सडक डिभिजन कार्यालय सुर्खेतको संयुक्त प्रयासबाट अपट्यारो ठाउँको पहिरो हटाएर अहिले दुईतर्फी नै राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उता कालिकोटमा पानी रोकिएपछि हिलो पन्छाएर पहिलो हटाउने कार्य पुरा भएपछि सडक सुचारु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लगाातारको वर्षाले लेदो झरेकोले सडक खुलाउन समय लागेको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख श्रवणकुमार महताराले बताए । उनले एस मोड, पिलि र गगने खोलामा एकतर्फी सडक खुलाएर यातायात सुचारु गरिएको सडक सुचारु भएपछि जुम्ला, मुगु र कालीकोट तथा कर्णाली करिडोरको हुम्ला, बाजुरा, कालीकोटको रास्कोट भेगबाट आएका गाडी गन्तब्य तर्फ लागेको जानकारी दिए ।


यता पहिरोले तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–मान्म सडकखण्ड समेत सञ्चालनमा आएको छ । शनिबार बेलुकी ७ बजे गएको पहिरोका कारण सेरावाडा, सिम्ले र सिम्ले मोडमा गएको पहिरो हटाउन सडक डिभिजन कार्यालय जुम्लाले चौबिसै घण्टा मेसिन र प्राविधिक टोली परिचालन गरेको थियो।
पिली खण्डमा ग्याबिनसहितको वाल लगाएर सडक सञ्चालनमा ल्याइएको निमित्त प्रमुख महाताराले बताए। ‘पिली खण्ड निकै कठिन थियो, तर निरन्तर प्रयासपछि सडक खुलाउन सफल भयौं,’ उनले भने । भदौ महिनायता कालिकोट–जुम्ला सडक खण्डमा १० भन्दा बढी साना–ठुला पहिरो गइसकेका छन् । सबैभन्दा बढी समस्या गगनेखोलामा देखिएको छ, जहाँ हरेक दिनजसो पहिरो खसिरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
विसं २०६३ चैत ३१ गते पहिलोपटक सुर्खेतदेखि जुम्लामा गाडी पुगेको थियो । राजमार्गमा जोडिएपछि कर्णालीका नागरिकको जीवनस्तरमा धेरै फेरबदल ल्याएको छ । यहाँका नागरिकलाई स्थानीय बजारमा मात्र सीमित नराखी सुर्खेत, नेपालगञ्ज बुटवल, चितवनलगायतका सहरसहित राजधानी काठमाडौंसँग जोडिन र पहुँच राख्न सहज बनाएको छ ।
आधुनिकताले सडक छेउमात्र होइन, गाउँबस्तीलाई समेत छोइसकेको छ । हरेक नागरिकलाई सहरिया बन्ने इच्छा र महत्वाकाङ्क्षा जगाएको छ । आज कर्णाली राजमार्ग छेउका डरलाग्दा भीरहरूमा घर तथा टहरा निर्माण भएर व्यापार व्यवसाय सञ्चालन भएका छन् ।
नेपाली सेनाले खोलेको साँघुरो ट्रयाक फराकिलो नगर्दै गाडी सञ्चालन गरियो । ट्रयाक खोलेको सात वर्षपछि २०७० सालमा ओटासिल प्रविधिबाट त्यही साँघुरो सडक कालोपत्र पनि गरियो । अहिले राजमार्गका विभिन्न ठाउँमा कालोपत्र उप्किँदा कर्णाली भित्रिने जो कोहीको यात्रालाई जोखिमयुक्त बनाएको छ ।

भीर र साँघुरो सडककै कारण ट्रयाक खोलिएपछि कर्णाली राजमार्गमा दर्जनौं गाडी दुर्घटना भएका छन् भने सयौं नागरिकले ज्यान गुमाइसकेका छन् । धनको क्षति पनि त्यसरी नै भएको छ । बढ्दो दुर्घटनाका कारण हुने धनजनको क्षति रोक्न राजमार्गको तत्काल स्तरवृद्धि गरिने भनिए पनि त्यसको कार्यान्वयन नहुँदा जोखिम कायमै छ ।
सडकको अवरोध र जोखिम कम गर्न जुम्लादेखि कालीकोटको दही खोलासम्म डिभिजन सडक कार्यालय जुम्ला र सुर्खेतदेखि दही खोलासम्म डिभिजन कार्यालय सडक सुर्खेतको क्षेत्राधिकार पर्दछ । दुवै सङ्घअन्तर्गतकै कार्यालय हुन् । सडक बिग्रेका ठाउँमा मर्मत गर्ने, पहिरो हटाउने र सानातिना काम गर्नेबाहेक ठोस काम ती कार्यालयबाट भएको देखिँदैन । सामान्यतयाः राजमार्गको अवरोध हटाउने प्रयास भए पनि राजमार्गको स्तरवृद्धि हुन सकेको छैन ।












