

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, स्थित आपडाली टोलबासीहरुले मानवताको एउटा ऐतिहासिक र अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन् ।
दैनिक ज्यालामजदुरी गरेर बिहान–बेलुकाको छाक टार्नुपर्ने चुनौतीपूर्ण अवस्थामा रहेका टोलबासीहरुले देशमा परेको प्राकृतिक विपत्तिप्रति संवेदनशिल भई आफ्नो गाँस काटेर प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८ हजार १५ रुपैयाँ जम्मा गरेका हुन् ।
आफैं अभावमा रहेर पनि अरुको दुःखमा मलम लगाउने आपडाली टोल विकास समितिले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।

आफ्नो दैनिक गुजारा चलाउन समेत संघर्ष गर्नुपर्ने परिस्थितिमा पनि, विपत्तिमा परेका अन्य नेपालीहरुको घाउमा मलम लगाउन आपडाली टोलका बासिन्दाहरुले देखाएको यो उदारताले मानवताको ठूलो उदाहरण प्रस्तुत गरेको वीरेन्द्रनगर–१, का वडाध्यक्ष दिनेश खत्रीले बताए ।
‘यो वास्तवमै एउटा अत्यन्तै प्रशंसनीय र प्रेरणादायी कार्य हो । उनीहरुको यो विशाल हृदय, त्याग र उच्च मानवीय भावनाको जति प्रशंसा गरे पनि कमै हुन्छ । यो महान कार्यले हामी सबैलाई संकटको बेला एकअर्काको सहारा बन्न ठूलो प्रेरणा दिएको छ,’ उनले भने, ‘उक्त टोलका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुको यो पुण्य कार्यको उच्च मूल्यांकन गर्दै हार्दिक सम्मान व्यक्त गर्दछौं ।’
गर्नलाई मन चाहिन्छ, धन मात्र होइन भन्ने भनाइलाई यो कार्यले चरितार्थ पारेको उनको भनाइ छ ।












