

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीवार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।
मन्त्री यादवले बुधवार प्रतिनिधिसभाको उद्योग समितिको ग्यास आपूर्ति सहज बनाउन उद्योगीमाथि कडाइ गर्नुपर्ने आशयको अभिव्यक्ति दिएकी थिइन् । उनले बैठकमा ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

उक्त अभिव्यक्ति दिएपछि बुधवार प्रधानमन्त्रीको सचिवालयले मन्त्रीलाई राजीनामा दिन दबाब दिएको स्रोतले बताएको छ । उनको उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरुले आपत्ति जनाएका थिए ।
उद्योगीहरुले मन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री शाहको समेत ध्यानाकर्षण गराएका थिए । त्यसको भोलिपल्टै मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन् ।
उनी गत चैत २७ गते मन्त्री नियुक्त भएकी थिइन् ।











