२०८३ भदौ २९ , सोमबार
Sky News Nepal
September 15, 2026

दुई छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु



खलंगा । जिल्लामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सल्यानको त्रिवेणी गाउँपालिका–५, सिम्कमा बोलेरो दुर्घटनामा तीन र सोही गाउँपालिका–३ टाट्केमा भएको मोटरसाइकल दुर्घटनामा एक गरी चार जनाको मृत्यु भएको हो ।

त्रिवेणी गाउँपालिका–५ सिम्कबाट दाङ तुलसीपुर जाँदै गरेको लु.प्र.०२००१ ज ०००५ नम्बरको बोलेरो सिम्कमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, वडा न ५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी, वडा न ५ सिम्कका ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै सल्यान त्रिवेणी गाउँपालिका–३ टाट्केमा रा ४ प २४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाङको शान्तिनगर गाउँपालिका–१, पेदीखोला निवासी अन्दाजी ३५ वर्षीया जिता केसीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार केसीले लगाएको सलवार सुटको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएपछि उनी मोटरसाइकलबाट पल्टिएकी थिइन । त्यसक्रममा लतारिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रेशम र बिपनाको सल्यान जिल्ला अस्पताल र वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा परी सल्यान त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय गाडी चालक भुपाल पुन, २९ वर्षीय पारस बोहरा र ४२ वर्षीया लालमित बुढाथोकी घाइते भएका छन् । उनीहरुको सञ्जीवनी अस्पताल घोराहीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार
Translate »