२०८३ भदौ २९ , सोमबार
Sky News Nepal
September 15, 2026

रुकुम जिप दुर्घटनाका मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार



रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ ।

दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बदबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार थप दुई जना घाइतेलाई लिन हेलिकप्टर आउँदै छ ।

अन्यको सानीभेरी गाउँपालिका अस्पताल सिम्लीमा उपचार भइरहेको छ । ‘जिपमा चालकसहित १३ जना सवार रहेका अनुसन्धानका क्रममा जानकारी भएको छ । यसअघि ११ जना सवार रहेका भन्ने प्रारम्भिक सोधपुछका क्रममा सूचनामा प्राप्त भएकोमा अनुसन्धानलाई तीव्र बनाउँदै सम्बन्धित निकायमा सोधपुछ गर्दा यात्रुको सङ्ख्या १३ रहेको जानकारी पाएका छौं,’ प्रहरी नायब उपरीक्षक पौडेलेले भने । उनका अनुसार जिपमा सवार सबैको पहिचान भने अझै खुलेको छैन् ।

सानीभेरी गाउँपालिका–६ को कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आइरहेको लु१च–६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटना भएको थियो । जिप सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार
Translate »