२०८३ कात्तिक ९ , आइतबार
Sky News Nepal
October 25, 2026

बेपत्ता १७ जनामध्ये ९ जनाको शव अझै फेला परेन

कैलाश खोलामा आएको बाढीको एक बर्ष


टेकराज भण्डारी / अछाम । गत बर्ष भदौ २ गते राति अछामको कैलाश खोलामा आएको बाढीमा बेपत्ता १७ जनामध्ये ९ जनाको शव अझै फेला परेको छैन । भीषण वर्षासँगै आएको बाढीले जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ मा रहेको सैनिबजार पूर्णरुपमा बगाएको थियो ।

उक्त बाढीमा २२ वटा घर बगाउनुका साथै १७ जना जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ता १७ जनामध्ये ८ जनाको शव विभिन्न समयमा फेला परे पनि ९ जनाको शव अझै फेला नपरेको प्रहरीले जनाएको छ ।
बाढीले बगाउँदा बेपत्ता हुनेमा रामारोशन ५ का चन्द्र बहादुर साउद, वसुन्धरा साउद, नन्द सिंह साउद, गङ्गा साउद, रुपेश साउद, जोगा साउद, नवीन साउद, कविता बुढा साउद, अमर बहादुर शाह, पवित्रा शाह, समीर शाह, गौरी शाह, सम्झना शाह रहेका थिए ।

यसैगरी प्राप्ति साउद, बिमा साउद तथा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलाका लालसरा शाही र उनका छोरा वसन्त शाही रहेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताए ।

उनीहरू मध्ये ८ जनाको शव फेला परे पनि अन्य ९ जनाको हालसम्म कुनै पत्ता लाग्न नसकेको प्रहरी निरीक्षक बोहराको भनाइ छ ।

गत बर्ष भदौ २ गते राति अछामको रामारोशन ५ मा रहेको सैनिबजार बगाउँदा १७ जना बाढीमा परेका थिए । बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुङ्गे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, नेपाल टेलिकमको बोलेरो जीप, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बाढीले विकास निर्माणको हिसाबले पछि परेको रामारोशन क्षेत्रको अझै पनि विकास हुन सकेको छैन । सडक बिस्तार, बिधुत बिस्तारिकरणको काम जारी भए पनि सोचे अनुरूप प्रगति नभएको नागरिकले गुनासो गरेमा छन् । केन्द्रबाट क्षतविक्षत भएका संरचना निर्माणका लागि पर्याप्त बजेट नआउँदा यो समस्या भइरहेको छ ।

आफन्त गुमाएका तथा पहिरोले विस्थापित भएका नागरिकले सोच अनुरूप स्थानीय, प्रदेश र केन्द्र सरकारबाट उचित राहत नपाएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : २०७८ भदौ २ गते बुधबार
Translate »