सिञ्जा क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

सागर परियार / जुम्ला । जुम्लाको सिञ्जा क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

एक सातादेखि अवरुद्ध टेलिफोन सेवा अझै सुधार नभएको सिञ्जाका स्थानीयले गुनासो गरेका छन् ।

टावर आउने जाने भए पनि स्थानीय सम्पर्क विहीन छन् । टावर देखाए पनि फोन नलाग्ने, फोन लागे कुरा नबुझिने तर पैसा काट्ने समस्याले सिञ्जाका स्थानीय बताउँछन् ।

घाम लागेको बेला टावर नजिकै र अग्लो डाँडामा जाँदा काम गर्ने र १/२ घण्टामै फेरी टावर जाने समस्या रहेको छ ।

सिञ्जा गाउँपालिकाको केन्द्र समेत रहेको नराकोटमा इन्टरनेट तथा टेलिफोन सेवा अवरुद्ध भएपछि बैङ्किङ तथा कार्यालयका कामकाज पनि प्रभावित भएको छ ।

नेपाल टेलिकमले नयाँ ठाउँमा विस्तार गरेको टावरबाट पनि राम्रो सेवा प्रवाह नभएको सिञ्जाकै कृष्ण बहादुर बुढाले रेडियो नेपाललाई बताए ।

उनका अनुसार इन्टरनेट चलाउने कुरो त परै जावस घर भित्र जाँदा समेत टावर हराउँछ । सेवा विस्तार गर्दा राम्रो अनुसन्धान नगर्दा समस्या भएको छ । टेलिफोन सुधारमा सम्बन्धित निकाय यथाशीघ्र ध्यान दिन उनले सुझाव दिए।

निरन्तर वर्षा र बादल लागेपछि ब्याट्री चार्ज हुन नपाएर टावर अवरुद्ध भएको नेपाल टेलिकम शाखा जुम्लाले जनाएको छ ।

हाल जुम्लामा इन्टरनेटको क्षमता बिस्तारको काम चलिरहेकोले सिञ्जा क्षेत्रमा कति बेला टावर आउने जाने समस्या रहेकोले छिटै सुधार हुने नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले बताए ।

जम्मा ४ सय ८९ एमबी मात्रै क्षमता भएको र जुम्लामा ग्राहक क्षमताभन्दा दोब्बरले बढी भएपछि इन्टरनेट र टेलिफोन सेवामा समस्या आएको प्रमुख श्रेष्ठको भनाई छ ।

“ल्याण्डलाइनको क्षमता ७ सय २५ लाइन भएकोमा हालसम्म ८ सयभन्दा बढी लाइन प्रयोग भइसकेका छन् । त्यस्तै, लिज लाइन, एडिसियल लाइन विटिएस लाइन, फोजी, थ्रि जी लगायतका सबै लाइनको क्षमताभन्दा दोब्बर ग्राहक हुँदा समस्या आएको हो । हामी सुधार गर्न जुटेका छौ ।” उनले भने।

Translate »