राप्रपाको कर्णाली प्रदेश स्तरीय भेला स्थगित

स्काई न्यूज /माघ ११, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णली प्रदेश स्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले बृहत आम भेलालाई पार्टीले स्थगन गरेको हो । पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार माघ १५ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने भनिएको बृहत आम भेला अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको सोमवार पार्टीका कर्णाली प्रदेश अध्यक्ष दिपबहादुर शाहीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

यसैवीच राप्रपाले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ । सोमवार पार्टीले विज्ञप्ती जारी गर्दै सो बारे जानकारी गराएको हो । यस्तै, सोमबार बसेको पदाधिकारी बैठकले आफ्नो उम्मेदवार रहेको प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ । उक्त विज्ञप्तीमार्फत राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको र अन्य प्रदेशमा पार्टीको उम्मेदवार नभएको पनि उल्लेख गरेको छ ।

Translate »