सुरक्षा रणनीति बनाउन जुटे प्रजिअ

६ जिल्लाको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

स्काई न्यूज /माघ २८, सुर्खेत । सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सुर्खेत आसपासका जिल्लाहरुमा सुरक्षा रणनीति बनाउन थालिएको छ । स्थानीय तहको निर्वाचन लक्षित संयुक्त सुरक्षा रणनीति बनाउनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा ६ जिल्लाको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक गरिएको हो । कार्यक्रममा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका जिल्ला स्थित प्रमुखहरुको उस्थिति रहेको थियो ।

वर्तमान सुरक्षा अवस्थाको समिक्षासँगै आगामी रणनीति, कोरोना रोकथाम नियन्त्रण प्रतिकार्य, खोप कार्ड अनिवार्य गर्ने, फरार अपराधी पक्राउ अभियान तीव्र पार्ने, अन्तरसिमा नाकाहरुबाट लागु औषध ओसारपसार नियन्त्रण गर्ने, राजनीतिक आवरणमा हुने अपराधिक गतिविधि रोक्ने, राजमार्ग सुरक्षा बढाउने, सीमा अपराध, भन्सार चोरी निकासी नियन्त्रण, जिल्ला प्रशासनसँगै सुरक्षा निकायलाई अतिरिक्त आवश्यक सहयोगका लागि नीतिगत व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्ने, सार्वजनिक विदाका दिन सरकारी सवारीसाधनको दुरुपयोग रोक्नेलगायतका विविध विषयहरुमा सहभागिहरु वीच अन्तरक्रियात्मक छलफल भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनले बैठकमा सिमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढंगले अगाडी बढ्ने र सिमा एरियाहरुमा हुने ग्रैह्रकानूनी क्रियाकलापहरुलाई ६ वटै जिल्लाहरुको समन्वयमा प्रभावकारी रुपमा नियन्त्रण गर्ने निर्णय गरिएको बताए । उनका अनुसार कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, दैलेखका प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेल, जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा, र सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

विपद्का घटनाहरुसंग समन्वय, सुरक्षा, लागुऔषध ओसारपसार र सूचनाहरु आदान प्रदान गर्नका लागि अन्तर जिल्ला सुरक्षा समन्वय बैठक फलदायी भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले बताए । उनले समन्वय बैठकले अन्तर जिल्ला स्तरीय सुरक्षा, विपदका घटनाहरुमा समन्वय र अपराधका घटनाहरुलाई न्यूनिकरण गर्नका लागि ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

अन्तर जिल्ला स्तरीय सुरक्षा बैठकले ६ जिल्लाका सुरक्षा प्रमुखहरु वीच चिनजान र अपराधका घटनाहरुलाई न्यूनिकरण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको विश्वास रहेको थियो । संभावित विपदका घटनाहरुमा सहयोग, चोरी पौठारी र तस्करीहरुलाई नियन्त्रण, महिला बेचबिखन र फरार अपराधीहरुलाई पक्राउ गर्नका लागि समन्वय बैठक उपलब्धी हुने उनको विश्वास छ ।

 

Translate »