२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

अद्यावधिक दाबी विरोध गर्न आव्हान : मतदाता नामावली वडामा प्रकाशन हुँदै



स्काई न्यूज/ फागुन १५, सुर्खेत ।  प्रदेश निर्वाचन कार्यालय सुर्खेतले यही फागुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक दाबी विरोध गर्न आव्हान गरेको छ । कार्यालयले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मतदाता नामावलीमा भएका त्रुटिहरुलाई सच्याउनका लागि मतदाताहरुले ७ दिन भित्र निवेदन दर्ता गराई सक्नुपर्ने जानकारी गराईएको हो ।

दाबी विरोध कार्यक्रमका लागि ७ दिनको समय निर्वाचन आयोगले दिएपनि विभिन्न शीर्षकमा फरक फरक समय तोकिएको छ । निर्वाचन कार्यालयका अनुसार मतदाता नामावली अद्यावधिक दाबी विरोधका लागि जिल्लाका नौ वटा स्थानीय तहका ९९ वटा वडाकार्यालयमा फागुन १९ गते नामवली प्रकाशन हुनेछ ।

सुर्खेत जिल्लामा हालको अनुमानित २ लाख ४० हजार ८ सय १ जना मतदाताहरुको संख्या रहेको छ । ती मतदाताहरुको नामावलीमा केही त्रुटि भए, झुटो विवरण पेस गरी मतदाता परिचयपत्र प्राप्त गरेको भए अथवा नागरिकता रद्ध भएको भए मतदाताहरुले आफ्नो नामावली सच्याउनको लागि आयोगबाट तोकिएका अनुसूची फारम भरी वडा कार्यालय मार्फत वा सोझै निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए ।

सम्बन्धित मतदाताले निर्वाचन कार्यालयमा स्वय उपस्थित भएर वा ईमेल मार्फत समेत निवेदन दिन सकिने व्यवस्था रहेको उनले जनाए । ‘मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि मतदाताहरुले फागुन २०, २१ र २२ गते तीन दिन मात्रै निवेदन दिन पाउने व्यवस्था रहेको छ,’ उनले भने, ‘नागरिकता त्याग गरेकाहरुको मतदाता नामावलीबाट नाम हटाउनका लागि फागुन २० देखि २३ गतेसम्म निवेदन दर्ता गराउन सकिने छ ।’

उनले मृत्यु भएका मतदाताहरुको नामावलीबाट नाम हटाउनका लागि प्रमाणसहित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने बताए । ‘कसैले झुटो विवरण पेस गरी मतदाता परिचय पत्र प्राप्त गरेको वा दोहोरो नाम दर्ता गरेका मतदाताहरुको नाम हटाउनका लागि प्रमाणसहित निर्वाचन कार्यालयमा निवेदन दर्ता गराउन सकिनेछ,’ उनले भने, ‘हचुवाको भरमा विना प्रमाण उजुरी दिए कुनै किसिमको कारबाही नहुने हुँदा आफ्नो झुटो विवरणकर्ताको नागरिकताको प्रतिलिपि एवं अन्य आवश्यक कागजात लगायतका प्रमाणहरु पेस गर्नुपर्नेछ ।’

उनका अनुसार मतदाता परिचयपत्र नष्ट भएको वा हराएको अवस्थामा यही फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयको सिफारिससहित स्वयं उपस्थित भई वा ईमेल मार्फत निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

मतदान गर्नको लागि मतदाता परिचय पत्र भन्दा पनि नामावली अनिवार्य रहेको उनको भनाइ छ । उनले मतदाता नामावलीमा नाम रहेको तर परिचयपत्र नभएको खण्डमा सक्कल नागरिकताको आधारमा मतदान गर्न सकिने विगतको अभ्यास रहेको जनाए । कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्वाचन राजनीतिक दल एव जनप्रतिनिधिसँग सम्बन्धित रहेकाले सम्पूर्ण सहयोग आवश्यक रहेको औल्याए ।

उनले मतदाता नामावली अद्यावधिक दाबी विरोध सहितको कार्यक्रमबारे सम्पूर्ण पालिकाका जनप्रतिनिधिहरुले आफ्नो पालिकाका सम्पूर्ण वडाहरुमा निर्वाचन कार्यालयले उपलब्ध गराएको सूचना आम नागरिकसम्म पु¥याउन आग्रह गरे । कार्यक्रममा स्थानीय तहमका प्रमुख प्रशासकीय अधिकृतहरु, राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरोकारवाला एवं सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ फागुन १५ गते आइतबार
Translate »