एमयूमा भाषा तथा सीपविकास केन्द्र स्थापना


स्काई न्यूज /फागुन २४, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापी भाषा तथा व्यवसायिक सिप विकास केन्द्र स्थापना गरेको छ । विश्वविद्यालयले विभिन्न भाषाहरुको अध्ययन र व्यवसायिक सिप सिकाउने उद्देश्यले केन्द्रको स्थापना गरेको हो । संयुक्त राष्ट्र सङ्घका प्रमुख छ भाषाहरु, विश्वमा सबैभन्दा बढी माग भएका र सभ्ययतासंग जोडिएका भाषा सिकाउने उद्देश्यले केन्द्रको स्थापना भएको विश्वविद्यालयले जनाएको छ ।
केन्द्रका कार्यकारी निर्देशक उपप्राध्याक चित्रबहादुर केसीले संयुक्त राष्ट्र सङ्घका भाषाहरुका अतिरिक्त जर्मन, जापनिज, कोरियन र विश्व सभ्यतासंग जोडिएका ल्याटिन, ग्रिक, संस्कृत लगायतका भाषाहरुको अध्ययन गराइने जानकारी दिए । विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले मंगलबार वीरेन्द्रनगर नगरपालिका ८ खजुरामा स्थापना गरिएको केन्द्रको विधिवत उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपकूलपति सिंहले विश्वविद्यालयले नियमित प्राज्ञिक गतिविधिका अतिरिक्त विश्वस्तरका भाषा र सीप सिकाउन जोड दिएको बताए । ‘विश्वकाजुनसुकै ठाउँमा गएर पनि टिक्न सक्ने विद्यार्थीहरु उत्पादन गर्ने लक्ष्यअनुसार केन्द्र स्थापना गरेका हौं,’ उनले भने, ‘भाषा सिकाउने मात्र नभई ती भाषा बोलिने मुलुकमा पुग्ने विद्यार्थीहरुलाई सीपमुलक व्यवसायिक पाठ्यक्रम तयार गरी रोजगारीमा जोडिनेछ ।’
तत्कालका लागि कोरियनभाषा सञ्चालन हुनेछ । कार्यकारी निर्देशक केसीका अनुसार कोरियनभाषा सञ्चालनका लागि बुधबारदेखि निवेदन माग गरिने र चैत १६ गतेदेखि कोरियनभाषाको कक्षा सञ्चालन हुनेछ ।

