

स्काई न्यूज /चैत १९, सुर्खेत । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन मध्यपश्चिम विश्वविद्यालयको अध्यक्षमा रामप्रसाद कँडेल चयन भएका छन् । संगठनको शुक्रबार सम्पन्न केन्द्रीय कमिटीको छैटौं सम्मेलनले अध्यक्षमा कँडेललाई सम्र्वसम्मत चयन गरेको हो ।
सम्मेलनले कमिटीको उपाध्यक्षमा वेदप्रकाश ढकाल, सचिवमा युवराज पौडेल, सहसचिव कमलराज लम्साल, कोषाध्यक्ष दिनेश कँडेल, तथा सदस्यहरूमा त्रिभुवन बिसी, क्षेत्रमणि तिमिल्सेना, सबिता ढुंगाना र भीम रोकायलाई चयन गरेको छ ।
यही चैत्र २५ र २६ गते नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको काठमाडौंमा हुने गईरहेको दशौं राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिमा खेमराज रावत, नारायणनाथ योगी, तेजबिक्रम बस्नेत, बिष्णुकुमार खड्का, सुशीलकुमार शाही, पुष्पराज आचार्य र प्रविण भुसाललाई चयन गरिएको छ ।
यसअघि सम्मेलन सफलताको शुभकामना दिँदै नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कंडेलले प्राज्ञिक व्यक्तिहरुले वास्तविकता बुझेर कलम चलाउनुपर्ने औल्याए । उनले समसामयिक विषयमा, देशको समग्र विकासको पाटो र अनुगमनका विषयमा प्राज्ञिकहरुले कलम चलाएर वास्तविकता जनतालाई बुझाउनु पर्ने बताए ।


‘विद्यालयलाई आफ्नो अनुकुलतामा प्रयोग गरेर होइन, समग्र प्राज्ञिक थलोको रुपमा विकासका लागि प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘जिम्मेवारीले मानिसलाई अगाडि बढाउन मद्दत गर्छ, मन मिल्दा सम्झौता गर्ने र मन नमिल्दा आन्दोलन गर्ने जस्ता गतिविधिले विश्वविद्यालयलाई अन्तै मोडेको छ ।’
पछाडि परेका र पारिएकाहरुको सबैभन्दा ठूलो शक्ति भनेको नै एकता हो । त्यसैले कर्णालीले समग्र विकास गर्नका लागि अब एकतामा बाँधिनुको विकल्प नरहेको उनको थियो । एक फकर प्रसङ्गमा नेता कंडेलले माओवादी र समाजवादीका नेताहरुले माओवादी र समाजवादीको साइनबोर्ड राखेको भएपनि ब्यवहार फरक गरिरहेको जिकिर गरे ।
कार्यक्रममा नेकपा एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटाले नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले कुरा होइन काम गरेर विश्वविद्यालयका हरेक गतिविधिहरुमा नेतृत्व लिनुपर्नेमा जोड दिए ।












