२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

निजी विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्न माग



स्काई न्यूज / चैत २२, सुर्खेत । सुर्खेतका निजी विद्यालयमा अध्यनरत विद्यार्थीले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्नमा माग गरेका छन् । जिल्लाको चर्चित प्रतिक्षा मन्टेश्वरी ईलेमेन्ट्री स्कूलका विद्यार्थीले मंगलबार वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै राजनीति दलहरुले विभिन्न बहानामा गरिने बन्द, हड्ताल र आन्दोलनका कारणले शान्तिपूर्ण तरिकाले पढ्न पाउने विद्यार्थीको हक माथि हनन् हुँदै आएकाले सम्बन्धित पक्षलाई गम्भिर बन्न आग्रह गर्दै बन्दलाई सदाका लागि बन्द गर्न माग गरेका हुन् ।

उनीहरुले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै नेपालको संविधान २०७२ को भाग २, धारा ३१ मा उल्लेखको भएको अधिकारलाई सुरक्षित गर्दै पूर्णरुपमा सदुपयोग गर्ने वातावरण मिलाई दिन माग गरेका छन् । ‘शान्तिपूर्ण तरिकाले विद्यार्थीले पढ्न पाउनु पर्ने मौलिक अधिकार हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘धारा ३९ वमोजिम व्यवस्था गरिएको हाम्रो बालअधिकारलाई धेरै तरिकाले हनन् भईरहेकाले सम्बन्धित पक्षले गम्भिर भएर शान्तिपूर्ण तरिकाले पढ्न पाउने व्यवस्था मिलाउन जोरदार माग गर्दछौं ।’

उनीहरुले सामुदायिक विद्यालय सरह नै निजी विद्यालयहरुलाई शान्तिपूर्ण तरिकाले सहजरुपमा पठनपाठन हुने व्यवस्था मिलाई दिन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख सुवेदीसँग आग्रह गरे । यता नगर प्रमुख सुवेदीले निजी क्षेत्रका बालबालिकाको भविष्यप्रति आफु व्यक्तिगतरुपमा अत्यन्तै सम्वेदनशील र गम्भिर रहेकाले सबै राजनीतिकहरुसँग समन्वय गरेर बन्द, हड्ताल र आन्दोलन जस्ता क्रियाकलापहरु सधैका लागि बन्द गरि दिन आग्रह र पहल गर्ने बचन दिए ।

उनले विभिन्न बहानामा गरिने बन्द, हड्ताल र आन्दोलन जस्ता क्रियाकलापहरुले शैक्षिक क्षेत्रसँगै हाम्रो आर्थिक तथा सामाजिक क्षेत्रमा धेरै ठूलो असर पुग्ने भएकाले सम्बन्धित पक्षलाई यस्ता गतिविधि नगर्न कानूनीरुपमै निस्तेज पार्न आवश्यक रहेको औल्याए । यता विभिन्न बहानामा गरिने बन्द, हड्ताल र आन्दोलन जस्ता क्रियाकलापहरुबाट निजीक्षेत्रका विद्यालयका विद्यार्थीसँगै विद्यालयले ठूलो नोक्सानै व्यहोर्दै आईरहेका छन् । मंगलबार प्रतिक्षा मन्टेश्वरी ईलेमेन्ट्री स्कूलका करिब डेढ दर्जन विद्यार्थीले बन्द, हड्ताल र आन्दोलन जस्ता क्रियाकलापहरुबाट पठनपाठनमा ठूलो क्षति पुगेका आइन्दा यस्ता गतिविधि बन्द गराई दिन वीरेन्द्रनगर नगरपालिका मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २०७८ चैत २२ गते मंगलबार
Translate »