डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । पदोन्नति भएका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाल सरकार गृह मन्त्रालय (मन्त्री स्तर) को २०७९ वैशाख ८ को निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व सङ्गठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताए । आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत् तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई उनले निर्देशन दिए ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्यायले सङ्गठनमा आबद्ध सदस्यमार्फत भाइचारा र सहयोगात्मक भावनालाई बढाउँदै सङ्गठनको श्रीवृद्धिका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

Translate »