२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 22, 2026

चुनावका दिन सार्वजनिक सवारी नचल्ने,अन्यले पास लिनुपर्ने

भारत र चीनका सीमा नाका पनि ३ दिन बन्द गर्न आग्रह


काठमाडौं: आगामी वैशाख ३० गते मतदान हुने दिन सार्वजनिक सवारी साधन चलाउन नपाइने भएको छ।

पास विनाका सवारी साधन चलाउन नदिन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेकाे छ।

आयोगले काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीहरूले अनिवार्यरुपमा अनुमति लिनुपर्ने मापदण्ड तयार गरेको छ।

जसअनुसार एम्बुलेन्स, दमकल जस्ता सवारीसाधनले भने सवारी पास लिनु पर्दैन। आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको आयोगका एक कर्मचारीले बताए।

शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ। अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ।

यस्तै, अन्य सवारी साधनहरुलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिईएको छ। तर, राष्ट्रसंघ तथा कुटनीतिक नियोगका सवारी साधनले भने निर्वाचन आयोगको केन्द्रीय कार्यालय बाटै अनुमति लिनुपर्ने आयोग स्रोतले बताएको छ।

पत्रकारको हकमा काठमाण्डौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ।

मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार दमकल, एम्बुलेन्स, पानी, दूध बोक्ने सवारीसाधन चलाउन पाईने छ।

आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका ३ दिन बन्द गर्न पनि सरकारलाई पत्र पठाएको छ। वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न आयोगले भनेको हो।

यस्तै तोकिएको क्षेत्रमा मादक पदार्थ निषेध गर्न पनि भनिएको छ । चुनावको ३ दिन अगाडि राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन सख्त निषेध गर्न गृह मन्त्रालयलाई लेखी पठाउने आयोगले निर्णय गरेको पौडेलले जानकारी दिए। (थाहा खबर)

प्रकाशित मिति : २०७९ वैशाख २२ गते बिहीबार
Translate »