अध्यक्ष पदका उम्मेदवारनै एमालेमा प्रवेश


स्काई न्यूज/ बैशाख २५, सुर्खेत । आसन्न स्थानीय तहको निर्वाचन आउन जम्मा ५ दिन बाँकी रहँदा समेत नेकपा एमाले पार्टीमा प्रवेश गर्नेहरुको लर्को रोकिएको छैन् । शनिबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवारनै नेकपा एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट चौकुने गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गंगाबहादुर बिक एक कार्यक्रम वीच एमालेमा प्रवेश गरेका हुन् ।

एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत चुनावी भेलामा उनले राप्रपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरे । बिकले नेकपा एमाले चौकुने गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारीलाई समर्थन गर्दै नेकपा एमालेको सिद्धान्त, विचारबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताए । राप्रपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको प्रेस विज्ञप्तिमार्फत समेत उनले सार्वजनिक गरेका छन् ।


आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि एमालेका उम्मेदवारलाई जिताउन उनले चौकुने गाउँबासीसँग आग्रह गरे । वर्तमान परिप्रेक्षमा समाज र राष्ट्रको समृद्धिका लागि केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेको विकल्प अरु कुनै पार्टी नभएको उनको भनाइ थियो । कार्यक्रममा नेकपा एमालेबाट चौकुने गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारी, उपाध्यक्ष पदका उम्मेदवार निर्मला रानालगायतले विकलाई पार्टीमा स्वागत गरेका थिए ।


