सल्यानमा दुई महिलामात्र प्रमुख पदमा

सल्यान । स्थानीय तह निर्वाचनमा सल्यानबाट दुई महिला मात्र प्रमुख पदमा निर्वाचित भएका छन् । दश पालिका र ८३ वडा रहेको सल्यानमा दुई महिला मात्र वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
पालिका प्रमुखमा उम्मेदवार नबनाएका राजनीतिक दलले वडामा समेत महिलालाई प्रमुख पदको उम्मेदवार बनाइएन ।


माओवादी केन्द्रले दार्मा गाउँपालिका ६ मा देवी केसी, नेपाली काँग्रेसले शारदा नगरपालिका ३ मा तुल्सा भण्डारी ,राप्रपाले शारदा ३ मा इन्द्रा भण्डारी र विप्लव नेतृत्वको नेकपाले बागचौर नगरपालिका ८ मा हेमन्ता बुढाथोकीलाई उम्मेदवार बनाउने बाहेक अन्य कुनै पनि वडामा महिलालाई प्रमुख पद दिइएन । गठबन्धनको नाममा पालिका उपाध्यक्षमा महिलालाई हटाएर पुरुषलाई उम्मेदवार बनाइयो ।
चार जना उम्मेदवार बनेकोमा दुई जना दार्मा गाउँपालिका ६ मा देवी केसी र शारदा नगरपालिका ३ मा तुल्सा भण्डारी मात्र निर्वाचित हुन सके । संविधानले प्रमुख वा उपप्रमुखमा अनिवार्य महिला उल्लेख गरे पनि महिलाहरूलाई उपप्रमुखमा मात्र सीमित गरिएको महिला नेतृहरूको भनाई छ ।
महिलालाई कमजोर सोच्ने पुरुषवादी सोचले गर्दा महिला पछि परी रहेको शारदा नगरपालिकाको निवर्तमान उपमेयर सावित्रा बस्नेतले बताइन । पुरुषवादी सोचको अन्त्य नभएसम्म महिलाले प्रमुख पद पाउन नसक्ने उनको भनाई छ । (रेडियो नेपाल)

