२०८३ असोज ८ , बिहीबार
Sky News Nepal
September 24, 2026

हुक्का सेवनको भ्रम र वास्तविकता



आजकाल हुक्का सेवन युवा-युवतीमा अत्यन्त्यै लोकप्रिय छ। चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन्। आजकाल त झन् रेष्टुरेन्ट र बार गएपछि हुक्का सेवन गदै सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रवृत्ति  फेसन जस्तै छ। जसले बालबालिकाको सोचाईमा असर पारेको छ। कतिपय समाजमा त झन् हुक्का सेवनलाई प्रोत्साहन गरिन्छ।

तर यथार्थ फरक छ, एक पटक हुक्का सेवन गर्नु भनेको १० देखि १५ खिल्ली चुरोट सेवन गर्नु जस्तै हो। एक घण्टा हुक्का सेवन गर्दा १०० देखि २०० वटा चुरोट सेवन गर्नु बराबर हुन्छ। हुक्कामा निकोटिन, भारी धातु, कार्बनमोनोअक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ।

अत्यधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै फोक्सो सम्बन्धी रोग, मुख, अन्ननली, मूत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटु सम्बन्धी रोग गराउँछ। धूम्रपान  गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना धूम्रपान  नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुणा बढी हुन्छ। निष्क्रिय धूम्रपान  गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ।

धूम्रपानको असरहरू 
-विभिन्न क्यान्सर, फोक्सो, मुटु सम्बन्धी रोग, निकोटिन निर्भरता, मनोवैज्ञानिक असर, उच्च रक्तचाप, मधुमेह,  एथेरोस्क्लेरोसिस, क्षयरोग हुन सक्छ।
-शुक्राणुको संख्या, गुणस्तर घट्नु, पुरुष बाँजोपन।
-वातावरण प्रधुषण।
-गर्भावस्थामा धूम्रपान गर्दा समयपूर्व बच्चा जन्मनुका साथै नवजात शिशुको मृत्यु हुन्छ।

धूम्रपान  त्याग्ने  उपायहरु
-धूम्रपानको तलतल लाग्दा  पानी पिउने।
-स्वास्थ्य खानपान साथै दैनिक शारीरिक व्यायाम गर्ने।
-मदिरापान त्याग्ने।
-६ देखि ८ घण्टा सुत्ने।
-स्वास्थ्य विज्ञबाट सल्लाह र सुझाव लिने।

धूम्रपानले स्वास्थ्यमा पार्ने असरको जनचेतना फैलाउँदै, हुक्का सेवन, धूम्रपान  परित्याग गर्दै गम्भीर तथा तीव्र रोगहरूबाट बाँचौ र अरूलाई बचाउँ।

(श्रेष्ठ जिल्ला अस्पताल नुवाकोटमा मेडिकल अधिकृतको रुपमा कार्यरत छन्।) (स्वास्थ्य खबर)

प्रकाशित मिति : २०७९ असार ४ गते शनिबार
Translate »