२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

प्रादेशिक आँखा स्वास्थ्य नीति नबन्दा समस्या



स्काई न्यूज /भदौं १९, सुर्खेत । कर्णालीमा प्रादेशिक आँखा स्वास्थ्य नीति नबन्दा नागरिकले सोचेजस्तो सेवा पाउन नसकेको सरोकारवालाले बताएका छन् । नेपाल रेडक्रस सोसाइटी सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको नेपाल रेडक्रसको ६० औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले प्रादेशिक आँखा स्वास्थ्य नीति बन्न नसक्दा गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार कार्यान्वनमा समस्या रहेको औल्याए । राज्यले स्पष्ट नीतिगतरुपमै आँखा स्वास्थ्य नीति नबनाउँदा नागरिकलाई कुन निकायले कस्तो सेवा दिने, कुन निकायले कस्तो भूमिका निभाउने भन्ने बारे अहिले अलमलमै वितेको सरोकारवालाको भनाइ थियो ।

सुर्खेत आँखा अस्पतालका प्रबन्धक घनबहादुर थापाले कर्णालीमा प्रादेशिक आँखा स्वास्थ्य नीति बन्न नसक्दा सेवा प्रवाहमा थप चुनौतिहरु बढ्दै गईरहेको बताए । उनले सुर्खेत आँखा अस्पतालकै पहलमा बनेको कर्णालीमा प्रादेशिक आँखा स्वास्थ्य नीतिको ड्राफ्ट अहिले समाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखामा अट्केको जनाए । उनका अनुसार महाशाखा प्रमुखको नेतृत्वमा प्रादेशिक आँखा स्वास्थ्य नीति निर्माणका लागि कार्यदल बनेपनि त्यसपछिको कामले गति लिन सकेको छैन् ।

दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले नेपाल रेडक्रस सोसाइटीले विपद्, स्वास्थ्य क्षेत्रसँगै स्वयम सेवकको भावना विकास गर्दे सामाजिक सुसंस्कार निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको जिकिर गरे । उनले रेडक्रसकै सहयोगमा सञ्चालित सुर्खेत आँखा अस्पताले कर्णालीमा नेत्र रोगसँग सम्बन्धित समस्या निराकरण गर्दै मानव सेवामा उल्लेखनिय सेवा पु¥याउँदै आएको बताए । हाल मन्त्रालयमा अट्केको प्रादेशिक आँखा स्वास्थ्य नीति निर्माणको फाइल छिट्टै प्रदेश सरकार समथ पु¥याई व्यापक छलफल गरी कार्यान्वयनमा ल्याईने उनको भनाइ थियो ।

नेपाल रेडक्रसको जति प्रशंसा गरेपनि कम हुने कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाले बताए । उनले रेडक्रसको सहयोगमा सञ्चालित आँखा अस्पतालमा हाल भईरहेको जनशक्ति अभावलाई परिपूर्ति गर्न कर्णाली सरकारले सहयोगका लागि पहल गर्नुपर्ने सुझाव दिए । कर्णालीको एक मात्र आँखा रोग उपचार केन्द्रको रुपमा रहेको सुर्खेत आँखा अस्पताललाई सबै निकायबाट सहयोग हुनुपर्ने उनको भनाइ थियो ।

सुर्खेत आँखा अस्पतालका प्रमुख डाक्टर महेश खतिवाडाले सबैको सहयोग तथा सहकार्यमा कर्णालीका झण्डै वार्षिक ५० हजार नागरिकलाई अस्पतालबाटै सेवा प्रवाह गरिरहेको जानकारी दिए । उनले गएको आर्थिक वर्षमा इनडोर र आउटडोर गरी कर्णालीका सवा लाख नागरिकलाई आँखा रोग सम्बन्धि परामर्शसँगै सेवा प्रदान गरिएको जनाए । हाल अस्पतालमा विशेषज्ञ डाक्टरको केही दरबन्दी रिक्त रहेकाले ३४ जना बाट सोचेजस्तो सेवा प्रवाह गर्न कठिनाई भईरहेको उनको भनाइ थियो । अस्पतालबाटै बढी सेवा लिनेमा ५६ प्रतिशत महिला रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटीले सुर्खेतमा विविध कार्यक्रमको आयोजना गरी आफ्नो ६० स्थापना दिवस मनाएको जनाएको छ । सोसाइटी जिल्ला शाखा सुर्खेत र सुर्खेत आँखा अस्पतालले ‘परोकारको शक्तिमा विश्वास’ भन्ने नाराका साथ आइतबार वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रमसहित स्थापना दिवस मनाईएको रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यले बताए ।

रेडक्रसले विभिन्न अन्तर्राष्ट्रिय दातृनिकायको सर सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको भएपनि हाल अपेक्षाकृत सहयोग आउन कमी भएकाले नागरिकलाई सोचेजस्तो सेवा प्रवाह गर्न सकस भईरहेको उनको भनाइ थियो । उनले रेडक्रसले दिँदै आएका सेवालाई थप प्रभावकारी बनाउन सरकारी निकायको सहयोग अहिले अपरिहार्य बन्दै गईरहेको जनाए । कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार
Translate »