२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

मावि तह अंग्रेजी विषयको नतिजा सार्वजनिक



भदौ २२, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को ८० शिक्षक पदको लागि १०४ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । परीक्षामा ३३६ जना सहभागी भएका थिए ।

 

मधेश प्रदेशको लागि २२ रिक्त पदको लागि ४८ जना सहभागीमध्ये २९ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशको लागि ६६ रिक्त पदको लागि २३९ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये ७५ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा ६१ रिक्त पदको लागि २७८ जनाले परीक्षा दिएको मध्येमा ७३ जनाले परीक्षा उत्तीर्ण गरेका छन् ।त्यस्तैगरी लुम्बिनी प्रदेशको लागि ३८ रिक्त दरबन्दीको लागि १७७ जनाले परीक्षा दिएकोमा ४७ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । कर्णाली प्रदेशको लागि २० शिक्षक पदका लागि ४२ जनाले परीक्षा दिएको मध्ये जम्मा १७ जनाले उत्तीर्ण गरेका छन् । सुदुरपश्चिम प्रदेशमा २७ शिक्षक पदका लागि १२९ जनाले परीक्षा दिएका थिए । ती मध्येमा २८ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

आयोगले चैत १५ गते सामान्य र असार ९ गते विषयगत परीक्षा लिएको थियो ।

आयोगले उत्तरपुस्तिकामा नाम ठेगाना लेखेको एकजनाको उत्तरपुस्तिका र सामान्य परीक्षामा अनुत्तीर्ण व्यक्तिले अर्काको रोल नम्बरबाट परीक्षा दिएका एक जना गरी दुई जनाको उत्तरपुस्तिका रद्द गरेको जनाएको छ ।

लिखित परीक्षाको नतिजामा चित्त नबुझेको अवस्थामा पुनर्योग गर्न चाहनेले भदौ २९ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

परीक्षार्थीले अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेद्वारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम बुझाउनुपर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७९ भदौ २२ गते बुधबार
Translate »