२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

खस्किँदो शैक्षिक गुणस्तरप्रति पूर्व प्रधानमन्त्री भट्टराईद्वारा चिन्ता जाहिर



स्काई न्यूज /भदौं २२, सुर्खेत । पूर्व प्रधानमन्त्री डा. भट्टराईले देशैभरका विश्वविद्यालयमा बढ्दो शैक्षिक अराजकताले निराशा छाएको बताएका छन् । बुधबार सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयको भ्रमणक्रममा उनले खस्किदो शैक्षिक गुणस्तरसँगै विभिन्न बहानामा गरिने शैक्षिक अराजकताले सबैमा चिन्ता र चाँसो बढाएको बताएका हुन् । विश्वविद्यालय केन्द्रीय कार्यालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँगको भेटवार्तामा उनले भने, ‘देशका अन्य विश्वविद्यालयको तुलनामा मध्यपश्चिम विश्वविद्यालयले चालेका कदम र सुधारात्मक कार्यले सकारात्मक उर्जा थपिएको देखिन्छ ।’

उनले विश्वविद्यालयमा हुने अराजक गतिविधिको अन्त्यसँगै समय सान्दर्भिक शिक्षाको गुणस्तर बृद्धिका लागि चालिएका कदमले सबैलाई आशावादी तुल्याए बताए । विश्वविद्यालयले भिजिटिंग प्रोफेसरको रुपमा बोलाएमा आफु आउन इच्छुक रहेको धारणा समेत उनले व्यक्त गरे । भेटघाट कार्यक्रममा उपकुलपति सिंहले विश्वविद्यालयको पछिल्लो अवस्था र विश्वविद्यालयले चालेका सुधारात्मक कदम तथा प्रगतिबारे पूर्व प्रधानमन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

भेटघाट तथा छलफल कार्यक्रममा विश्वविद्यालयका उपकुलपति सिंह, रजिष्ट्रार नारायणप्रसाद पौडेल, विभिन्न ग्रेजुएट स्कुलका डीनज्यूहरु, कार्यकारी निर्देशकज्यूहरु, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, प्राचार्यसँगै उपकुलपति तथा रजिस्ट्रार सचिवालय सदस्य तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

मप र सेभ द चिल्ड्रेनवीच सम्झौंता
यसैवीच (मप) ग्रेजुएट स्कूल अफ एडुकेशन र सेभ द चिल्ड्रेन इन्टरनेशनल बीच प्राथमिक तहमा गुणस्तरीय शिक्षाका लागि बृहत फ्रेमवर्कको विकास र पाइलटिङका लागि टास्क स्पेफिक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहको उपस्थितिमा विश्वविद्यालय ग्रेजुएट स्कूल अफ एडुकेशनका डीन लीलाधर तिवारी तथा सेभ द चिल्ड्रेनका फिल्ड कार्यक्रम सञ्चालन निर्देशक बिरेन्द्र ठगुन्नाले सम्झौंतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताको प्राथमिक उद्देश्य गुणस्तर शिक्षाको लागि व्यापक फ्रेमवर्कको अपेक्षित परिणामहरुको परीक्षणको लागि विकास र कार्यान्वयन गर्नु रहेको छ । कक्षा १ देखि ५ सम्मको राष्ट्रिय पाठ्यक्रममा परिकल्पना अनुरुप प्रारम्भिक कक्षाहरूमा बालबालिकाको सिकाइ कार्यसम्पादनमा सुधार गर्नुपर्ने उल्लेख गरिएको छ । परियोजना जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका ६ वटा विद्यालय र कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाका ६ वटा गरी जम्मा १२ वटा विद्यालयहरुमा सञ्चालन हुनेछ । यस परियोजनाको दायरालाई फराकिलो पार्दै निकट भविष्यमा उच्च शिक्षामा समेत लागु गर्ने योजना रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७९ भदौ २२ गते बुधबार
Translate »