शिक्षाको स्तर माथि उकास्न अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ : नगरप्रमुख ढकाल


स्काई न्यूज /भदौं २५, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले सार्वजनिक शिक्षाको स्तर उकास्न अभिभावक बढी सचेत हुनुपर्ने बताएकी छिन् । सुर्खेतको वीरेन्द्रनगर–१२, स्थित जनजागृत प्राथमिक विद्यालयको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शुक्रबार बोल्दै नगरप्रमुख ढकालले विद्यालयको शैक्षिक गुणस्तरसँगै भौतिक तथा आर्थिक अवस्था स्तर माथि उकास्न अभिभावको भूमिका महत्वपूर्ण रहेको बताईन् ।
‘जनजागृति प्राथमिक विद्यालयको उन्नती प्रगतिमा विद्यालयका शिक्षक, कर्मचारीसँगै स्थानीय अभिभावको चाँसो र चिन्तनले माथि उठेको देख्दा धेरै खुशी लाग्छ,’ उनले भनिन्, ‘हरेक चीजको निर्माणका लागि सकारात्मक सोंच र जागरुकता भएमा सार्वजनिक शिक्षा क्षेत्र मात्र होइन, अन्य क्षेत्रको विकासमा समेत फड्को मार्न धेरै समय कुर्न नपर्ने उदाहरण यो शिक्षक कर्मचारीसँगै अभिभावको प्रशंसा गर्दै विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा वीनपाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव धिरेन्द्र लम्सालले सामुदायिक विद्यालयको स्तर बृद्धिप्रति स्थानीय अभिभावकले देखाएको सद्भाव र सहयोगले जनजागृतिको स्तर माथि उठ्न सफल भएको बताए । ‘आम अभिभावकको विश्वास र माया जित्न सफल जनजागृतिलाई थप माथि उकास्न अझै निरन्तर सहयोग र सद्भावको आवश्यक रहन्छ,’ उनले भने, ‘अझै विद्यालयलाई अभिभावक र शिक्षक कर्मचारीले निरन्तरता दिएर शैक्षिक गुणस्तरसँगै भौतिक तथा आर्थिकरुपमा सबल बनाई रहनु पर्छ ।’

उनले वीनपा भित्र रहेका उत्कृष्ट ६४ विद्यालय मध्ये जनजागृति पाँचौं स्थानमा पर्न सफल भएको जानकारी दिए । वीनपा–१२, नम्वर वडाध्यक्ष चुडामणि चपाईले तुलनात्कक रुपले अन्य विद्यालय भन्दा जनजागृति शैक्षिक गुणस्तरसँगै भौतिक तथा आर्थिक रुपमा फड्को मार्दै गईरहेकाले आफ्नो तर्फबाट थप सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे । उनले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल तत्काल नदेखिएपनि दिर्घकालिन तवरले साँवा व्याजसहित फिर्ता हुने उल्लेख गरे ।

साना बालबालिकाको उज्जवल भविष्य निर्माण गर्ने महान कार्यप्रति विभिन्न समाजसेवीको उनले प्रशंसा गर्दै आफ्नो कमाईको केही हिस्सा विद्यालयलाई समेत सहयोग गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका निवर्तमान उप–संयोजक देवी भट्टराईले महिलाले नेतृत्व गरेका विद्यालयहरुले निरन्तर प्रगति गरि रहेकाले अब अन्य संस्थाहरुमा समेत महिला नेतृत्व बढाउनु पर्नेमा जोड दिईन् ।

उनले जनजागृतिका प्रधानाध्यापकले सकारात्मक सोचका साथ विद्यालयको गुणस्तर बृद्धिदेखि भौतिक निर्माण अघोरात्र खटेकै कारणले नमूना विद्यालय बन्न सफल भएकोप्रति धन्यवाद व्यक्त गरिन् । विद्यालयको थप सुधारका लागि आफ्नो स्तरबाट सदा सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाईन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानुकुमारी सुवेदी गैरेले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक अवस्था बारेको प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक शिक्षाको स्तर माथि उकास्न सरोकारावालाहरुको सहयोग विना एक्लै केही गर्न नसकिने जिकिर गरिन् ।
उनले जनजागृतिलाई यहाँसम्म पु¥याउन स्थानीय अभिभावक, शिक्षा सरोकारावाला, स्थानीय राजनीतिक दल, शिक्षालाई माया गर्ने समाजसेवीसँगै शिक्षक कर्मचारीको निरन्तर प्रयासले सम्भव भएको जनाईन् । बालबालिकाको भविष्य सुन्दर, सक्षम, सुयोग्य नागरिक उत्पादन गर्ने कार्यमा अझैपनि निरन्तर सबै सरोकारावालाको सहयोग र सद्भाव जरुरत रहेको उनले औल्याईन् । कार्यक्रम विद्यालयका बालविकास शिक्षक गीता बटालाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने विभिन्न दाता तथा समाजसेवीसँगै विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।


