सुर्खेतमा ११ प्रतिशत मात्रै महिला सहभागिता

स्काई न्यूज /असोज २७, सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ सुर्खेतमा करिब ११ प्रतिशत महिला सहभागिता रहेको छ । दलहरुले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ आधा जनसंख्या ओगटेका महिला र करिब १४ प्रतिशत जनसंख्या भएको दलित समुदायबाट अत्यन्त न्यून संख्यामा मात्रै उम्मेदवार बनाएर समानुपातिक समावेशी पद्धतिकै उपहास गरेको पाईएको हो । संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता मध्ये सुर्खेतमा करिब ११ प्रतिशत मात्र महिला सहभागिता रहेको छ । यसरी हेर्दा संविधानले परिकल्पना गरेको समावेशी शासन व्यवस्थाको मर्म पालनाका निम्ति प्रतिनिधिसभाका हकमा यस पटक पनि समानुपातिक प्रणालीकै भर पर्नुर्पर्ने देखिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतमा कुल उम्मेदवारी परेको ५२ जना मध्ये ६ जनाले फिता लिएपछि अहिले ४६ जना चुनवाी प्रतिस्पर्धामा रहेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्वर १, मा प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभातर्फ १४ जनाले चुनावी प्रतिस्पर्धा गर्दै छन् । दुई वटा प्रदेश सभा क्षेत्र रहेको निर्वाचन क्षेत्र नम्वर १, मा प्रदेश सभा ‘ख’ बाट नेपाल मजदूर किसान पार्टीकी मनकली रामजालीले उ्रम्मेदवारी दिएकी छन् । निर्वाचन क्षेत्र नम्वर १, को प्रतिनिधि सभा तर्फ र प्रदेश सभा ‘क’ बाट कुनैपनि महिलाको उम्मेदवारी परेको छैन् । तर, निर्वाचन क्षेत्र नम्वर २, मा भने ३ जना महिलाले प्रतिनिधि सभा र एक जना महिलाले प्रदेश सभा तर्फ प्रत्यक्षमा उम्मेदवारी दिएकी छिन् ।

प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट विरेन्द्राकुमारी चन्द, नेपाल मजदूर किसान पार्टीबाट तुलछी खड्का र नेशनलिष्ट पिपुल्स पार्टीबाट कुमारी राईले उम्मेदवारी दिएकी हुन् । निर्वाचन क्षेत्र २, प्रदेश सभा ‘क’ मा नेपाल मजदूर किसान पार्टीबाट विजुकला रानाले उम्मेदवारी दिएकी छिन् । यस क्षेत्रमा प्रतिनिधि तथा प्रदेश सभा तर्फ २४ जनाले चुनवाी प्रतिस्पर्धा गरिरहँदा त्यसमा ४ जना महिला उम्मेदवार छन् । जिल्लामा विभिन्न दल तथा स्वतन्त्रबाट ४६ जनाले उम्मेदवारी दिएकोमा ५ जना महिलाले मात्र प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ सहभागिता जनाउनु चिन्ता जनक विषय भएको राजनीतिक विशलेषकहरु बताउँछन् ।

प्रत्यक्षतर्फ उम्मेदवारी ठूला पार्टीबाट नभई अधिकांस साना पार्टीले प्रत्यक्ष तर्फ महिला उम्मेदवारलाई चनावी प्रतिपस्र्धामा उतारेका हुन् । संविधानमा प्रत्यक्ष तर्फ ३३ प्रतिशत पु¥याउनु पर्ने बाध्यकारी व्यवस्था नरहेकाले दलहरुले समावेशी तर्फ नै बढी जोड गरेको प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसे बताउँछन् । उनका अनुसार सुर्खेतमा ३३ प्रतिशत महिला सहभागिताको पनि एकतिहाई मात्र मात्र हो । जुन समुदाय प्रत्यक्ष चुनाव लडेर संसद् पुग्न सक्दैनन्, तिनको प्रतिनिधित्वका लागि समानुपातिक प्रणालीको प्रयोग अवश्य सुन्दर पक्ष हो । तर, सम्पूर्ण समुदायलाई नै यसकै भरमा छोड्नु कदापि राम्रो चौकुने गाउँपालिकाका समाजसेवी काशीराम देवकोटा बताउँछन् । दलहरुले यस पटक प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेपनि अर्को पटक भने अहिलेको वस्तुस्थिति र आँकडाबाट पाठ सिक्नुपर्ने उनको भनाइ थियो ।

उसो त कर्णाली प्रदेश सभाको २४ सिटका लागि प्रत्यक्ष तर्फ प्रदेशभरीबाट १ सय १६ जनाले चुनावी प्रतिस्पर्धा गर्दै छन् । ती मध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४/४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २/२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०/१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उता डोल्पामा ७, मुगुमा ८, जुम्लामा ८, जाजरकोट ७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रदेश सभाका लागि उम्मेदवारी दिएका ती मध्ये १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगले जारी गरेको अन्तिम नामावलीमा उल्लेख छ ।

Translate »