२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

फरेष्टरसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा



माघ २४, सल्यान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालीमाटी सव डिभिजन वन कार्यालयका फरेष्टर जय पृथ्वीराज बुढाथोकी सहित ६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुढाथोकी लगायत ६ जनाले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले मङ्गलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेमा बुढाथोकीसहित, कालीमाटी सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज शर्मा लम्साल, सामुदायिक वन उपभोक्ता समूह कालीमाटी ३, सल्यानका अध्यक्ष भीमबहादुर कवर, कोषाध्यक्ष जुद्धकुमारी वली र सचिव पुष्पा वली खासु मगर र दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, बबई गाउँपालिका ४, दाङका सञ्चालक दुर्गाप्रसाद वली रहेका छन् ।

तुलसीपुर पुरन्धारा बोटेचौर सडक खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी ३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरू कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको अख्तियारको दाबी छ ।

अख्तियारले उनीहरूमाथि १ लाख ८७ हजार ८७७ रुपैयाँदेखि २ लाख ६८ हजार ५६१ रुपैयाँसम्म दण्ड जरिवानाको माग गरेको छ । लम्सालले वन क्षेत्रबाट सङ्कलन भएका काठ दाउराको घाटगद्दी एवं ग्रेडिङ चेकजाँच तथा प्लटको अन्तिम जाँच गर्ने सिलसिलामा कालीमाटी सवडिभिजन कार्यालय, कालीमाटी सल्यानले बदनियतका साथ तयार गरेको गलत लगतलाई नै समर्थन गर्ने गरी प्रतिवेदन पेश गरेको देखिएकोले काठ कटानमुछान एवं घाटगद्दी गर्ने ठेकेदार तथा लगत तयार गर्ने कर्मचारीको मिलेमतोमा उक्त गलत प्रतिवेदन पेश गर्नुका साथै कटान मुछान गर्ने ठेकेदारसँग मिलोमतो गरी रु एक लाख घुस लिई गलत प्रतिवेदन पेश गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २०७९ माघ २४ गते मंगलबार
Translate »