तीनजना कर्मचारीको भरमा पूर्वाधार विकास कार्यालय

काममा कठिनाइ

फागुन ३, जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्ला तीन जना प्राविधिक कर्मचारीको भरमा चलिरहेको छ । तीन वटा बहुवर्षिय योजना सँगै दुई दर्जन बढी साना योजना सहित झोलुङ्गे तथा पक्की पुल निर्माणको काम गर्दै आएको कार्यालयले प्राविधिक जनशक्ति अभावमा तीनजना कर्मचारीको भरमा चलेको हो ।

जम्मा ११ जना दरबन्दी रहेको कार्यालयमा ८ जना मात्रै कार्यरत रहेको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख हरि बहादुर ओलीले बताए । उनले भने,‘११ जनाको दरबन्दीमा कार्यरत ८ जनामध्ये कार्यालय प्रमुख सहित प्राविधिक जनशक्ति ३ जना मात्रै छौ । बाँकी ५ जना प्रशासनतर्फका कर्मचारी हुन् । प्रदेशमै जनशक्ति नभएकोले माग गर्दा पनि पदपूर्ति हुन सकेको छैन ।’

इन्जिनियर २ जनाको दरबन्दी रहेकोमा १ जना र ३ जना सव–इन्जिनियर रहेकामा १ मात्रै कार्यरत छन् । ३ जना प्राविधिक जनशक्ति रिक्त रहेको प्रमुख ओलीले जानकारी दिए । पूर्वाधार विकासको कामलाई गति दिन नसक्नु,लक्ष्य अनुसार बजेट खर्च गर्न नसक्नुका विभिन्न कारण मध्य जनशक्ति अभाव र मौसमी प्रतिकुलता मुख्य कारण रहेको उनको भनाई छ ।

कार्यालयको अर्धवार्षिक पुँजीगत खर्च ९ दशमलब ४२ प्रतिशत भएको छ । पुँजीगत तर्फ विनियोजित कुल ६३ करोड ४२ लाख ३२ हजार मध्य ६ महिनामा ६ करोड १ लाख अर्थात् ९.४२ प्रतिशत खर्च भएको हो ।

६ महिनामा न्युन बजेट खर्च हुनुका मुख्य कारण कर्मचारी अभाव,दुईवटा चुनाव र मौसम प्रतिकुलता र टुक्रे योजना रहेको प्रमुख ओलीले उल्लेख गर्नुभयो । यद्यपि असार मसान्त सम्म ७० प्रतिशत पुँजीगत खर्च हुने उनको दाबी छ ।

तीन बहुवर्षिय योजना सँगै दर्जनौँ साना योजना,पुल निर्माणको काम गर्दै आएको पूर्वाधार कार्यालय प्रमुखसहित ३ जना प्राविधिक जनशक्तिको भरमा चलेको छ । दरबन्दी ११ जना रहेकोमा कार्यरत ८ जना छन् जसमध्य कार्यालय प्रमुख सहित ३ जना मात्रै प्राविधिक कर्मचारी रहेको कार्यालय प्रमुख ओली बताए । तीन जना कर्मचारीका भरमा चलेको पूर्वाधार कार्यालय सकी नसकी प्रतिकुलताका बीच पूर्वाधार विकासको कामलाई अघि बढाइरहेको इन्जिनियर टेक हितानले बताए। (रेडियो नेपाल)

Translate »